मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चार घण्टामा मतदान, दुई घण्टापछि नतिजा : रास्वपा महाधिवेशन बिहीबारसम्म टुंग्याउने तयारी

himalpress.com · Wed Jun 24 12:12:10 GMT 2026

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बुधबार साँझ निर्वाचन हुने भएको छ। रास्वपाका प्रवक्ता मनीष झाले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले चार घण्टाभित्र मतदान प्रक्रिया सम्पन्न गर्ने र मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको बुधबार पत्रकारहरूलाई जानकारी दिए। उनले भने, ‘साँझ साढे ७ बजेपछि मतदान हुनेछ।’

उनका अनुसार निर्वाचनका लागि ७५ वटा मतदान केन्द्र (बुथ) तयार गरिएको छ। करिब चार हजार १०० प्रतिनिधिले मतदान गर्नेछन्। प्रत्येक प्रतिनिधिले सातदेखि १० मिनेटभित्र मतदान गर्न सक्ने गरी व्यवस्था मिलाइएको उनले बताए।

महाधिवेशनको व्यवस्थापनसम्बन्धी केही प्रक्रिया समयमै पूरा हुन नसक्दा निर्वाचन कार्यतालिका प्रभावित भएको स्वीकार गर्दै झाले व्यवस्थापनमा कमजोरी भएको बताए। अनुभवको कमी र केही प्राविधिक कारणले ढिलाइ भए पनि महाधिवेशन सम्पन्न गराउन सबै पक्ष निरन्तर खटिरहेको उनको भनाइ छ।

‘ढिला भइसक्यो। अब छोडेर जानु हुँदैन। अझै अन्योल हुन सक्छ। यथाशीघ्र टुंगो लगाएर मात्रै चितवनबाट फर्किनेछौँ,’ झाले भने।

उनले उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भइसकेको भए पनि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्न बाँकी रहेको जानकारी दिए। रास्वपाले बिहीबार दिउँसोसम्म महाधिवेशनका सबै प्रक्रिया टुंग्याउने लक्ष्य राखेको जनाएको छ। रास्वपाले तीन दिनमा महाधिवेशन सक्ने कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिकाअनुसार असार ७ गते उद्घाटन गरिए पनि समापनका लागि भने कम्तीमा पाँच दिन लाग्ने संकेत देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)