फिफा अध्यक्ष इन्फान्टिनोले गरे 'हाइड्रेसन ब्रेक'को बचाउ
neplays.com · Wed Jun 24 12:27:00 GMT 2026
फिफा अध्यक्ष ग्यानी इन्फान्टिनोले जारी फिफा विश्वकप २०२६ मा पहिलो पटक लागू गरिएको नयाँ 'हाइड्रेसन ब्रेक' (पानी पिउने विश्राम) को बलियो बचाउ गरेका छन् । यो कदम विशुद्ध रूपमा "खेलकुद र खेलाडीको हित" का लागि चालिएको दाबी गर्दै उनले यसबाट फिफालाई कुनै अतिरिक्त व्यावसायिक आम्दानी नहुने स्पष्ट पारेका छन् । सबै व्यावसायिक र व्यापारिक सम्झौताहरू विश्वकप सुरु हुनुभन्दा धेरै अगाडि नै भइसकेकाले यसमा फिफाको कुनै वित्तीय स्वार्थ नरहेको उनको भनाइ छ ।
उत्तरी अमेरिका (अमेरिका, क्यानडा र मेक्सिको) मा जारी विश्वकपमा अत्यधिक गर्मीका कारण खेलाडीहरूलाई सहज बनाउन फिफाले प्रत्येक हाफको बीचमा तीन–तीन मिनेटको अनिवार्य हाइड्रेसन ब्रेकको नियम ल्याएको छ । खेलको २२औँ र ६७औँ मिनेटमा खेल रोकेर खेलाडीहरूलाई यो विश्राम दिने गरिएको छ ।
यो नयाँ नियम लागू भएसँगै विश्वभरका ब्रोडकास्टरहरू (टिभी च्यानलहरू) ले विज्ञापन प्रसारणका लागि नयाँ स्लट पाएका छन् । यसैलाई लिएर आलोचकहरूले फिफाले फुटबललाई व्यवसायिकरण गर्न र थप पैसा कमाउन यो जुक्ति निकालेको भन्दै कडा आलोचना गरिरहेका छन् ।
यसका साथै, मैदानभित्र खेलको लय (Momentum) र रणनीतिमा ठूलो असर पुगेको भन्दै धेरै देशका प्रशिक्षक र विज्ञहरूले असन्तुष्टि जनाएका छन् । उनीहरूका अनुसार यो ब्रेकले फुटबल म्याचलाई ९० मिनेटको खेल नभई बास्केटबल जस्तो चारवटा 'क्वार्टर' मा विभाजन गरिदिएको छ ।
विश्वकपमा असन्तुष्टि जनाउने मुख्य व्यक्तिहरूमा इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेल र उरुग्वेका प्रशिक्षक मार्सेलो बिएल्सा रहेका छन् । टुचेलले यो ब्रेकले "फुटबल म्याचको लय बिथोल्ने र यसको पहिचान नै बदल्ने" बताएका छन् भने बिएल्साले खेललाई स–साना टुक्रामा विभाजन गर्दा फुटबलको मौलिक विशेषता नै हराउने टिप्पणी गरेका छन्।
यस्तै, स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टा र नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले खेलाडीको स्वास्थ्य सुरक्षित राख्ने फिफाको मनसायको समर्थन गरे पनि मौसम चिसो भएको अवस्थामा वा छाना भएका वा एसी भएका रङ्गशालामा समेत यो ब्रेक किन चाहियो भन्दै प्रश्न उठाएका छन् ।
प्रशिक्षकहरूको रणनीतिक आलोचनाको जवाफ दिँदै फिफा अध्यक्ष इन्फान्टिनोले भने, "मुख्य कारण गर्मी नै हो । तर हामीले यो पनि बुझ्नुपर्छ कि ३९ दिनसम्म चल्ने यो महाकुम्भमा टोलीहरूले सम्भावित रूपमा ८ वटासम्म खेल खेल्नुपर्ने हुन्छ, जहाँ खेलाडीका लागि आरामको क्षण निकै महत्त्वपूर्ण हुन्छ । हाम्रा लागि योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने सबै टोलीले हरेक खेलमा समान परिस्थितिमा खेलून् ।"
इन्फान्टिनोका अनुसार मौसम र रङ्गशाला हेरेर नियम बदल्दा प्रशिक्षकहरूले खेलमा अनुचित फाइदा उठाउन सक्छन् । "कुनै खेलमा बढी गर्मी भएका कारण प्रशिक्षकले रणनीति परिवर्तन गर्ने मौका पाउने, तर अर्को खेलमा तापक्रम थोरै कम भएकै कारण सोही प्रशिक्षकले त्यो मौका नपाउने कुरा स्वीकार गर्न गाह्रो हुन्छ," उनले थपे ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
फिफा
मौसम