सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ
ratopati.com · Wed Jun 24 12:30:50 GMT 2026

काठमाडौँ । सामाजिक सञ्जालमार्फत एक महिलाको अश्लील तस्बिर तथा भिडियो दुरुपयोग गरी चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिलीप कुमार गिरीका अनुसार पीडित महिलाले आफ्नो अश्लील तस्बिर तथा भिडियो दुरुपयोग गर्दै डिस्काेर्ड र टेलिग्राम लगायतका सामाजिक सञ्जालमा पोस्ट गरिएको भन्दै निवेदन दिएकी थिइन्।
उक्त निवेदनपछि साइबर ब्यूरोले गरेको प्राविधिक अनुसन्धान तथा विश्लेषणका क्रममा घटनामा संलग्न रहेको आरोपमा रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थायी घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ त्रिभुवन पार्क क्षेत्रमा बस्दै आएका १९ वर्षीय विज्ञान शर्मा तिमल्सिना पक्राउ परेका हुन्।
ब्यूरोबाट खटिएको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो। उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको दुरुपयोग गरी कसैको गोपनीयता उल्लङ्घन गर्ने, अश्लील सामग्री प्रसारण गर्ने वा चरित्रहत्या गर्ने कार्य कानुनअनुसार दण्डनीय अपराध भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)