मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पौडी खेल्ने क्रममा फेवातालमा डुबेर युवकको मृत्यु

nagariknews.nagariknetwork.com · Wed Jun 24 12:26:11 GMT 2026

फेवातालमा पौडी खेल्ने क्रममा डुबेका पोखराका एकजना युवाको ज्यान गएको छ। पौडी खेल्ने क्रममा मंगलबार बेलुकी बेपत्ता भएका १९ वर्षीय ती युवकलाई सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले फेवातालबाट उद्धार गरेको थियो। उद्धारलगत्तै अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार कास्की पोखरा महानगरपालिका– १५ रामबजार बस्ने वर्ष १९ का अमर थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। तालमा डुबेको खबर पाउनासाथ सशस्त्र प्रहरीको कालिका गणको गोताखोरसहितको विपद् व्यवस्थापन टोली खोजी र उद्धारका लागि खटिएको थियो। बेलुकी ८ बजे उद्धारका लागि घटनास्थल खटिएको प्रहरीले राती ९ बजेर १० मिनेटमा तालको करिब २५ फिट गहिराईबाट ती युवकलाई अचेत अवस्थामा फेला पारेको थियो।

अचेत अवस्थामा फेला परेका युवकलाई पानीबाट बाहिर निकालेर उपचारका लागि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगिएकोमा राती पौने १० बजे चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी बलको कालिका गणले बताएको छ। सशस्त्र प्रहरीको कालिका गणका अनुसार चालु आर्थिक वर्षमा फेवातालमा फेवातालमा डुबेर मात्र पाँचजनाको ज्यान गएको छ।

Follow @nagarik_news

पोखरा फेवाताल

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)