बालेन किन महाधिवेशन नसकी फर्किए?
himalpress.com · Wed Jun 24 12:29:13 GMT 2026

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार सम्पन्न हुन नसकी लम्बिएपछि प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) चितवनबाट फर्किएका छन्।
रास्वपाका प्रवक्ता मनीष झाले बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाह महाधिवेशनको उद्घाटनका क्रममा गरेको प्रतिबद्धताअनुसार तीन दिन कार्यक्रममा सहभागी भएर फर्किएको जानकारी दिए।
‘उहाँलाई देशको चिन्ता लाग्यो अनि जानुभयो। उहाँले उद्घाटनका बेला तीन दिन बस्ने भन्नुभएको थियो। आफ्नो प्रतिबद्धताअनुसार बस्नुभयो र जानुभयो,’ झाले भने।
झाले आफूहरूले अपेक्षा गरेभन्दा प्रधानमन्त्री शाहले महाधिवेशनमा बढी समय दिएको उल्लेख गरे। उद्घाटन समारोहमा प्रधानमन्त्री सहभागी हुने वा नहुने भन्ने अन्योल रहेकाले उनको उपस्थितिलाई सकारात्मक रूपमा लिइएको उनले बताए।
प्रधानमन्त्री लामो समयसम्म पार्टी कार्यक्रममा बसेको भए त्यसले विभिन्न प्रश्न र टिप्पणी जन्माउन सक्ने भएकाले पनि उनी आफ्नो जिम्मेवारीमा फर्किएको झाको भनाइ थियो।
उनका अनुसार प्रधानमन्त्री शाहले पार्टीका लागि तीन–चार दिन समय दिएपछि अब देशका काममा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका थिए।
रास्वपाको महाधिवेशन नेतृत्व चयनलगायतका प्रक्रिया पूरा गर्न अझै जारी छ। पार्टीले बिहीबारसम्म महाधिवेशनका सम्पूर्ण कार्यक्रम टुंग्याउने लक्ष्य राखेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
बालेन शाह