मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
clickmandu.com · Wed Jun 24 12:55:59 GMT 2026

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी बैंकिङ तथा वित्तीय क्षेत्रमा देखिएका समस्याको समाधान गर्दै व्यवसायीलाई सहज वातावरण सिर्जना गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो ।
प्रतिनिधिमण्डलले विशेषगरी ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नको लागि २० प्रतिशत भन्दा बढी कर्जा प्रवाह गर्ने गरी नीति ल्याउन आग्रह गरेको छ ।
मुलुकको अर्थतन्त्र विगत पाँच वर्षदेखि निरन्तर सुस्त अवस्थामा रहेको, उद्योग, व्यापार, निर्माण, पर्यटन तथा सेवा क्षेत्र अपेक्षित रूपमा चलायमान हुन नसकेको र निजी क्षेत्रको मनोबल कमजोर बन्दै गएको भन्दै मौद्रिक नीतिमार्फत आर्थिक गतिविधि विस्तारमा विशेष प्राथमिकता दिन आग्रह गरेको हो ।
चेम्बरले एकल अंकको ब्याजदरलाई स्थायी नीति बनाउन, बैंक दर ५ प्रतिशत कायम गर्न, स्प्रेड दर ३.५ प्रतिशतमा सीमित गर्न तथा चालु पुँजी कर्जा निर्देशिका २०७८ तत्काल खारेज गरी व्यवसायीलाई सहज रूपमा कार्यशील पुँजी उपलब्ध गराउन माग गरेको छ ।
प्रतिनिधिमण्डलले सम्पत्ति शुद्धीकरण सम्बन्धी विद्यमान कानुनी व्यवस्थाले वैधानिक रूपमा आर्जित सम्पत्ति भएका उद्योगी–व्यवसायीमा समेत अनावश्यक त्रास सिर्जना गरेको उल्लेख गर्दै ऐन तथा कार्यान्वयनलाई व्यवहारिक र व्यवसायमैत्री बनाउनुपर्नेमा जोड दिएको छ । २०६४ सालअघि आर्जित सम्पत्तिको अभिलेखीकरण राज्य संयन्त्रमै व्यवस्थित नभएकाले त्यस अवधिका सम्पत्तिको स्रोत सम्बन्धमा व्यावहारिक दृष्टिकोण अपनाउनुपर्ने सुझाव दिइएको छ ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूमा केवाईसी तथा ग्राहक पहिचानसम्बन्धी प्रक्रिया अत्यधिक झन्झटिलो, दोहोरो र बैंकपिच्छे फरक भएकाले सेवाग्राही र व्यवसायीले अनावश्यक सास्ती भोग्नुपरेको चेम्बरले जनाएको छ । एक पटक कुनै बैंकमा केवाईसी पूरा गरिसकेपछि अन्य बैंक तथा वित्तीय संस्थामा पुनः सोही प्रक्रिया दोहोर्याउन नपर्ने गरी एकीकृत डिजिटल प्रणाली लागू गर्न र बैंकिङ कागजात तथा फारामलाई पनि एकरूप बनाउन आग्रह गरिएको छ ।
सुझावपत्रमा बैंकको किस्ता र ब्याज समयमै तिर्न नसकेका उद्योगी–व्यवसायीलाई तत्काल कालोसूचीमा राख्नुको सट्टा व्यवसायको प्रकृति हेरी पुनर्तालिकीकर र पुनर्संरचनाको सुविधा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । विशेषगरी हाउजिङ तथा रियल इस्टेट क्षेत्रलाई पुनर्जीवित गर्न कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण तथा लोन टुु भ्यालुु रेसियो ८० प्रतिशत कायम गर्न आग्रह गरिएको छ ।
त्यसैगरी, कर्जा–आम्दानी अनुपात सम्बन्धी कठोर व्यवस्था पुनरावलोकन गर्न, व्यक्तिगत जमानी दिने व्यक्तिको दायित्व निजको सेयर स्वामित्वको अनुपातसम्म सीमित गर्न, कम्पनी ऐनअनुसार सीमित दायित्वको सिद्धान्तलाई बैंकिङ क्षेत्रमा समेत प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा एउटा कम्पनी कालोसूचीमा पर्दैमा सम्बन्धित अन्य कम्पनीहरूको कारोबार नरोकिने व्यवस्था गर्न माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
विश्वनाथ पौडेल
काठमाडौँ