मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डले आफ्ना मेयर भरत थापा जोगाउन गरेको हत्कण्डा विफल, भ्रष्टाचारमा जेल

barnanmedia.com · Wed Aug 06 21:36:17 GMT 2025

सुशासनको गफ दिएर नथाक्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्लाहीको बागमती नगरपालिका मेयर भरत थापालाई जोगाउन निकै हतकण्डा अपनाए। अख्तियारले मुद्दा चलाउन थालेको सुइको पाएपछि उनले सर्लाहीमा आन्दोलन नै गर्न लगाए, थापालाई सरकारले मुद्दा, मामिलाको डर देखाएर एमालेमा प्रवेश गर्न दवाव दिएको भन्दै संसदमै बोले। कतिसम्म भने अख्तियारले १२१ बिघाको भरत तालको नाममा करोडौँ रकम अपचलन गरेको र सम्पत्तिको स्रोत नखुलेकोमा थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि ‘लोकप्रिय मेयरड भन्दै वकालत गरे। मुद्दा खेपिरहेका बेला जोगाउन निकै प्रयास पनि गरे।

तर, अन्ततः माओवादीबाट मेयर बनेका थापा भ्रष्टचारी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको बुधबारको इजलासले निलम्बित मेयरले गैरकानुनी सम्पत्ती आर्जन गरेको ठहर गर्दै एक वर्ष कैद सजाय र बिगोबमोजिम ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना तोकेको हो। मेयर थापा र उनको परिवारको आय र व्ययको विश्लेषण गर्दा आयभन्दा व्यय ३ करोड ४५ लाख २२ हजार ३ सय ८७ रुपैयाँ २३ पैसा देखिएको अदालतले ठहर गरेको छ। उनको कूल आय ९ करोड १४ लाख ३१ हजार ३ रुपैयाँ ९१ पैसा रहेकामा व्यय १२ करोड ५९ लाख ५३ हजार ३९१ रुपैयाँ १४ पैसा देखिन्छ। ‘कूल आयभन्दा व्यय ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ बढी देखियो,’ फैसलामा भनिएको छ, ‘निज प्रतिवादीले गैरकानुनी रुपमा आर्जन गरेको देखिन आई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि भएकोले निज प्रतिवादी भरतकुमार थापालाई सोही दफा २० को उपदफा (२) बमोजिम एक वर्ष कैद र बिगो बराबर ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ जरिवाना हुने ठहर्छ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)