मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगञ्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट

lokaantar.com

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चार अर्ब ४२ करोडको बजेट सार्वजनिक गरेको छ ।

बुधबार आयोजित नगरसभाको २० औं अधिवेशनमा महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलमका तर्फबाट नगर कार्यपालिका सदस्य जगत साहले चार अर्ब ४२ करोड ३४ लाख ६९ हजारको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।

प्रस्तुत बजेटअनुसार पूँजीगत खर्चतर्फ एक अर्ब ९६ करोड ९९ लाख ८४ हजार अर्थात् ४४.६ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ पाँच करोड अर्थात् १.१ प्रतिशत बजेट छुट्याइएको छ ।

त्यसैगरी, चालु खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख ६९ हजार अर्थात् कूल बजेटको ५४.३ प्रतिशत विनियोजन गरिएको छ ।

संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९८ करोड २९ लाख, आन्तरिक राजस्वबाट एक अर्ब ४८ करोड, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रूपैयाँ छ ।

प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८ हजार तथा प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १४ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसअघि नगरसभामा कार्यवाहक प्रमुख आलमले आगामी आर्थिक वर्षका लागि महानगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

त्यसैगरी, घरजग्गा रजिष्ट्रेसन शुल्कबाट ४५ करोड, गत वर्षको नगद मौज्दातबाट चार करोड ६९ लाख ४४ हजार तथा नगर विकास कोषबाट १५ करोड रूपैयाँ व्यवस्थापन गरिने बजेटमा उल्लेख गरिएको छ ।

आलमकै अध्यक्षतामा सम्पन्न नगरसभाको २० औं अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा, नगर कार्यपालिका सदस्य, महानगरका ३२ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्य, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

महानगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमममा पूर्वाधार विकास, वन तथा वातावरण, विपद् व्यवस्थापन, आर्थिक विकास, सामाजिक विकास र सुशासनमा जोड दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय