मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरतपुर महानगरको बजेट बढ्यो, ५ अर्ब ५१ करोडको कार्यक्रम सार्वजनिक

shilapatra.com · Wed Jun 24 13:28:00 GMT 2026

बागमती प्रदेशअन्तर्गत भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५ अर्ब ५१ करोड ७० लाख रुपैयाँबराबरको अनुमानित बजेट ल्याएको छ । महानगरपालिकाका कार्यवाहक नगर प्रमुख चित्रसेन अधिकारीले सोमबार उक्त बजेट सार्वजनिक गरेका हुन् ।

चालु आर्थिक वर्षका लागि ५ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याएको महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि केही बजेट बढाएर ल्याएको हो ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आयतर्फ आन्तरिक आय २ अर्ब ४ करोड (घरजग्गा रजिस्ट्रेसन एवं खानी तथा खनिजजन्य पदार्थको बाँडफाँटबाट प्राप्तसमेत), अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट (संघ र प्रदेशतर्फ) २ अर्ब १७ करोड ७३ लाख ९८ हजार, संघ राजस्व बाँडफाँटबाट ३३ करोड १२ लाख ६४ हजार तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १३ करोड ४० लाख ६१ हजार, नगर विकास कोषबाट ४ करोड, जनसहभागिताबाट ३ करोड, बैंक मौज्दात ७४ करोड ५० लाख, सडक बोर्ड नेपालबाट १ करोड ९३ लाख रहने प्रक्षेपण गरेको छ ।

सामाजिक सुरक्षालगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब २५ करोड खर्च हुने महानगरको प्रक्षेपण छ । गत आर्थिक वर्ष तथा चालु आवमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका योजनाहरू समयमै सम्पन्न गर्न ६० करोड विनियोजन गरिएको छ ।

महानगरपालिकाभित्रका सडकलाई नियमित रूपमा मर्मत तथा सम्भार गर्न, खाल्टाखुल्टीरहित बनाउन, सार्वजनिक भवन मर्मत तथा सुधार गर्नका लागि नियमित मर्मत सम्भार गर्नका लागि ६ करोड, गौतमबुद्ध क्रिकेट रंगशालाका लागि १४ करोड, महानगरको निर्माणाधीन इन्टेरियरसमेतको कामका लागि ९ करोड रकम विनियोजन गरिएको छ । महानगरले वडालाई न्यूनतम बजेट सिलिङ ३ करोड १९ लाख ६० हजार र अधिकतम ३ करोड ३८ लाख ५८ हजार बनाएर बजेट विनियोजन गरेको छ । महानगरका २९ वटा वडाका वडास्तरीय आयोजनाहरूमा ९४ करोड ९० लाख बजेट छुट्याइएको छ ।

सामुदायिक विद्यालयलाई खानेपानी तथा विद्युत् महसुलमा अनुदानको सुरुवात, बालविकास शिक्षामा पहुँच विस्तार, शैक्षिक प्रोत्साहन कार्यक्रमलाई निरन्तरता, स्रोत कक्षा र विशेष विद्यालयहरूको व्यवस्थापनमा गरिएको लगानीको निरन्तरताका साथै शिक्षामा पहुँच एवं गुणस्तर कायम गर्ने, विद्यालयको कक्षा घटाउने तथा विद्यालय समायोजन गर्दै दरबन्दी मिलानलगायतका शैक्षिक कार्यक्रम कार्यान्वयन गर्न ११ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ ।

महानगरपालिकाभित्र मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको खानेपानी महसुल छुट भुक्तानी निरन्तरतामा २ करोड विनियोजन गरेको महानगरले आपतकालीन विपद तथा प्रकोप व्यवस्थापन कोषमा १ करोड २५ लाख, भरतपुर महानगरले एम्बुलेन्स, उद्धार वाहन तथा शववाहन सवारी साधनका लागि १ करोड बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३

१९:१३

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय