लघुवित्तका थोक र खुद्रा संस्था गाभिए ५ वर्षसम्म थोक कारोबार गर्न पाइने
baahrakhari.com · Wed Jun 24 13:49:46 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरिएको ‘एकीकृत निर्देशन, २०८०’ मा संशोधन गर्दै मर्जर तथा प्राप्तिसम्बन्धी नयाँ नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले गरेको उक्त संशोधन बुधबार सार्वजनिक भएको हो ।
अबको व्यवस्थाअनुसार, थोक कर्जा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्था र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएमा वा प्राप्ति प्रक्रियामा सहभागी भएमा, एकीकृत कारोबारपछि बन्ने संस्थाले ’खुद्रा लघुवित्त वित्तीय संस्था’को रूपमा मात्र कार्य गर्नुपर्नेछ ।
जसअनुरुप मर्जरपछि बन्ने संस्थाले प्रत्यक्ष रूपमा ग्राहकहरूलाई लघु–कर्जा प्रवाह गर्ने खुद्रा संस्थाको रूपमा आफ्नो पहिचान कायम गर्नुपर्ने हुन्छ ।
यद्यपि, साविकमा थोक कर्जा प्रवाह गरिरहेका संस्थाहरूलाई मर्जरपछि आफ्नो व्यवसाय समायोजन गर्न राष्ट्र बैंकले निश्चित समय उपलब्ध गराएको छ ।
“थोक र खुद्रा लघुवित्त गाभिएर एकीकृत कारोबार सुरु गरेको मितिले ५ वर्षसम्म थोक कर्जाको कारोबार गर्न यस नयाँ व्यवस्थाले बाधा पुर्याउने छैन,” संशोधित निर्देशनमा उल्लेख छ ।
यो प्रावधानले लघुवित्त क्षेत्रमा फरक प्रकृतिका संस्थाहरूबीचको मर्जरलाई सहजीकरण गर्ने र संस्थाहरूलाई व्यावसायिक प्रकृति परिवर्तन गर्न पर्याप्त समय दिने केन्द्रीय बैंकको भनाइ छ ।
#नेपाल राष्ट्र बैंक
#लघुवित्त
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ