मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानन्यायाधीशविरुद्धको दरपिठ आदेश सदर

nepalnews.com · Wed Jun 24 13:56:06 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतले प्रधानन्यायाधीश नियुक्तिको विषयमा परेको रिट निवेदन सर्वोच्च प्रशासनले गरेको दरपिठ आदेशलाई सदर गरेको छ।

प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेलको संवैधानिक इजलासले बुधबार दरपिठ आदेश सदर गर्ने निर्णय गरेको हो।

संवैधानिक परिषद्‌ले गरेको निर्णय बदरको माग गर्दै परेको रिट निवेदन संवैधानिक इजलासमा पठाउन आदेश भएको थियो। यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो। अधिवक्ता गीता थापाले अध्यादेशमा टेकेर सर्वोच्च अदालतका लागि चौथो वरीयताबाट प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरेको भन्दै अध्यादेश नै खारेजको माग गर्दै रिट निवेदन दर्ता गरेकी थिइन्।

संवैधानिक परिषद्‌को निर्णयअनुसार सर्वोच्चमा चौथो वरीयताबाट मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त भएर काम थालेका छन्। संवैधानिक परिषद्‌को निर्णयविरुद्ध शर्मालाई सिफारिस गर्नासाथ सर्वोच्चमा रिट निवेदन दर्ताका लागि लगिएको थियो। सर्वोच्च प्रशासनले दरपिठ गरी आदेश नदिएर १० दिनसम्म राखेको थियो। प्रधानन्यायाधीश नियुक्ति भएपछि बल्ल रिट निवेदन दर्ता भएको थियो।

सर्वोच्चले प्रधानन्यायाधीशमा प्रस्तावित शर्माको नाम बदरको माग गरिएको निवेदनमा औचित्य सकिएको भन्दै दरपिठ आदेशलाई सदर गरेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालको रिट निवेदनमा यसअघि नै दरपिठको आदेश सदर गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)