दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकले दियो आवश्यक सामग्री
shilapatra.com · Wed Jun 24 13:54:00 GMT 2026

कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत झापाको बिर्तामोड–९ स्थित श्री दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर सहयोग गरेको छ ।
बैंकको शाखा कार्यालय बिर्तामोडमार्फत विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटालाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेका हुन् ।
दृष्टिविहीन छात्रावासमा बस्ने विद्यार्थीहरूको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले सहयोग प्रदान गरिएको बैंकले जनाएको छ । हस्तान्तरण गरिएको कुलरले गर्मीयाममा छात्रावासभित्रको तापक्रम सहज बनाउन मद्दत पुग्ने तथा विद्यार्थीलाई आरामदायी वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, ब्रेल पेपर दृष्टिविहीन विद्यार्थीहरूको पठनपाठनका लागि अत्यावश्यक शैक्षिक सामग्री भएकाले यसले उनीहरूको सिकाइ प्रक्रियालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन योगदान पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सापकोटाले बैंकप्रति आभार व्यक्त गर्दै प्राप्त सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको अध्ययन तथा छात्रावास व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।
सो अवसरमा बैंकका कोशी प्रदेश प्रमुख भुसालले शिक्षा क्षेत्रको विकास र समुदायका आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित मिति: बुधबार, असार १०, २०८३
१९:३९
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)