मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकी पाँच महानगरपालिका र काठमाडौंको बजेट झण्डै बराबर

corporatenepal.com · Wed Jun 24 13:58:27 GMT 2026

काठमाडौं । देशभरका छ वटै महानगरपालिकाले सार्वजनिक गरेको बजेट हेर्दा बाँकी पाँच नगरपालिका बराबर झण्डै काठमाडौं महानगरपालिकाको बजेट आएको छ ।

कानुनी प्रावधान अनुसार असार १० भित्र देशभरिका स्थानीय तहले आउँदो आर्थिक बर्षको बजेट सार्वजनिक गरिसक्नुपर्ने हुन्छ । काठमाडौंले यसअघि नै बजेट सार्वजनिक गरेकोमा बाँकी पाँच महानगरपालिकाले आज सार्वजनिक गरेका हुन् ।

Advertisement

बजेटका हिसावले सबैभन्दा ठूलो महानगरपालिका काठमाडौंको योगफल बाँकी पाँच महानगरपालिकाको छ । काठमाडौंकी कार्यबाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपियाँ सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड रुपियाँ अन्य वाह्य व्ययभार हुनेगरी कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपियाँको अनुमानित बजेट पेश गरेकी थिइन् ।

चालु आर्थिक वर्ष २०८२–८३ मा महानगरपालिकाले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपियाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

त्यस्तै, वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ को तुलनामा आकार वृद्धि गरी नयाँ बजेट सार्वजनिक गरेको छ । वीरगन्ज महानगरले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । कार्यवाहक नगरप्रमुख इम्तियाज आलमका तर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८३–८४ का लागि ५ अर्ब ५१ करोड ७० लाख २३ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले सोमबार १९ औं नगरसभामा बजेट पेश गरेका हुन् । महानगरपालिकाले चालु आवमा पाँच अर्ब २२ करोड रुपियाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ३ खर्ब ५६ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख शिल्पा निरला कार्कीले आगामी आवको बजेट प्रस्तुत गरेकी हुन् । विराटनगरले चालु आवमा भने तीन अर्ब ६८ करोडको बजेट कार्यान्वयन गरिरहेको छ ।

त्यस्तै, पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपियाँको बजेट ल्याएको छ । पोखरा महानगरका मेयर धनराज आचार्यले गत बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

शुक्रबार उपमेयर मञ्जुदेवी गुरुङले १९ औं नगर सभामा बजेट सार्वजनिक गरेकी हुन् । पोखराले चालु आवको तुलनामा घटाएर नयाँ बजेट ल्याएको छ । पोखरा महानगरपालिकाले चालु आवमा आठ अर्ब ३५ करोड १२ लाख रुपियाँको बजेट ल्याएको थियो ।

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपियाँ बराबरको बजेट ल्याएको छ । ललितपुरले चालु आवकै हाराहारीको आकारमा बजेट ल्याएको हो । चालु आवमा ललितपुरले ७ अर्ब ४७ करोड ४१ लाख रुपियाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय