मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मानसिक स्वास्थ्यमा क्षति पुर्‍याएको आरोप लागेको मुद्दामा युट्युबद्वारा अदालती मिलापत्र

onlinekhabar.com · Wed Jun 24 14:04:17 GMT 2026

१० असार, काठमाडौं । सामाजिक सञ्जालका कारण युवाहरूको मानसिक स्वास्थ्यमा परेको असर सम्बन्धी क्यालिफोर्नियामा दोस्रो चरणको अदालती सुनुवाइ सुरु हुन अघि युट्युबले एउटा मुद्दामा मिलापत्र गरेको छ।

प्लेटफर्मले आफ्नो मानसिक स्वास्थ्यमा गम्भीर क्षति पुर्‍याएको भन्दै एक नाबालकले दर्ता गरेको मुद्दामा युट्युबले मिलापत्र गरेको जानकारी उनका वकिलहरूले मंगलबार दिएका हुन्।

राज्य अदालतमा दर्ता भएको यस मुद्दाको मिलापत्रका सर्तहरू भने गोप्य राखिएका छन्। यस मुद्दामा युट्युब, मेटाको इन्स्टाग्राम, स्न्यापको स्न्यापच्याट र बाइटडान्सको टिकटक गरी चारवटा कम्पनीहरूलाई विपक्षी बनाइएको थियो।

बाँकी तीनवटा कम्पनीहरूले भने आगामी जुलाईमा अदालती सुनुवाइको सामना गर्नुपर्नेछ। गुगलका प्रवक्ता जोसे कास्टानेडाले एक विज्ञप्ति जारी गर्दै यो मुद्दा सौहार्दपूर्ण रूपमा समाधान भएको बताएका छन्।

उनले आफूहरूको ध्यान उमेर अनुकूलका उत्पादनहरू र प्यारेन्टल कन्ट्रोल सम्बन्धी सुविधाहरू निर्माण गर्नमा केन्द्रित रहेको उल्लेख गरेका छन्।

मुद्दा दायर गर्ने फ्लोरिडाका १६ वर्षीय किशोरले आफू आठ वर्षको उमेरदेखि सामाजिक सञ्जाल प्रयोग गर्न थालेको र यसको लतमा फसेको बताएका थिए।

लतका कारण आफ्नो निन्द्रा हराएको तथा डिप्रेसन र एन्जाइटीको सिकार हुनुपरेको अदालतको कागजातमा उल्लेख छ।

सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्तालाई लत बसाल्ने गरी जानाजानी प्लेटफर्म डिजाइन गरेको दाबी गर्दै क्यालिफोर्नियाको अदालतमा परीक्षण हुन लागेको यो दोस्रो मुद्दा हो। यसको सुनुवाइ जुलाई २७ देखि सुरु हुँदैछ।

क्यालिफोर्नियाको राज्य अदालतमा सामाजिक सञ्जाल कम्पनीहरू विरुद्ध लत सम्बन्धी दाबी गरिएका ३ हजार ३०० भन्दा बढी मुद्दाहरू विचाराधीन छन्। त्यस्तै क्यालिफोर्नियाकै संघीय अदालतमा व्यक्तिहरू, विद्यालय क्षेत्रहरू, नगरपालिकाहरू र राज्यहरूले दर्ता गरेका अन्य २ हजार ६०० मुद्दाहरू विचाराधीन रहेका छन्।

कम्पनीहरूले भने यी आरोपहरू अस्वीकार गर्दै किशोरकिशोरी र युवा प्रयोगकर्ताहरूलाई सुरक्षित राख्न व्यापक कदम चालिरहेको दाबी गर्दै आएका छन्।

यसअघि मार्चमा सम्पन्न भएको पहिलो चरणको सुनुवाइमा अदालतले युट्युब र इन्स्टाग्रामको लत लागेकी एक महिलाको पक्षमा फैसला सुनाउँदै मेटालाई ४२ लाख डलर र गुगललाई १८ लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो।

यसैगरी जुन महिनामा संघीय अदालतमा सुरु हुन लागेको केन्टकी विद्यालय क्षेत्रको अर्को मुद्दामा सुनुवाइ अगावै चारवटै कम्पनीहरूले संयुक्त रूपमा २ करोड ७० लाख डलर तिरेर मिलापत्र गरेका थिए।

लस एन्जलस र संघीय अदालतका मुद्दाहरूका अतिरिक्त अमेरिकाका लगभग सबै राज्यहरूले आफ्ना स्थानीय अदालतहरूमा यी कम्पनीहरू विरुद्ध मुद्दा दायर गरेका छन्। राज्यहरूले दायर गरेका मुद्दाहरू मध्ये पहिलो सुनुवाइमा न्यू मेक्सिकोको एउटा अदालतले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको सुरक्षाबारे गलत जानकारी दिएको भन्दै मेटालाई ३७ करोड ५० लाख डलर जरिवाना तिर्न आदेश दिइसकेको छ।

अर्को महिना मेटाले टेनेसी राज्यले दायर गरेको मुद्दामा पनि अदालतको सामना गर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय