प्रधानमन्त्रीले चितवन छोडे, मन्त्रीहरू चुनाव लड्दै, को-को छन् मैदानमा ?
shilapatra.com · Wed Jun 24 14:31:22 GMT 2026

प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह 'बालेन' महाधिवेशन नसकिँदै काठमाडौं फर्किएका छन् । महाधिवेशनको मूल कार्य नेतृत्व चयनका लागि बुधबार मतदान गर्ने तयारी चलिरहको छ ।
तर, बालेन त्यसअगावै काठमाडौं फर्किएपछि यसबारे प्रवक्ता मनिष झाले जवाफ दिएका छन् । झाले देशको चिन्ता लागेर बालेन काठमाडौं फर्किएको प्रतिक्रिया दिए । ‘देशको चिन्ता लाग्यो र जानुभयो । उहाँले उद्घाटन समारोहमा भन्नुभएको थियो– तीन दिन पार्टीका लागि समय छुट्याएको छु, बाँकी देशका लागि,’ प्रवक्ता झाले भने ।
बालेनले आफ्नो प्रतिबद्धता पूरा गरेको उनको भनाइ छ । ‘उहाँले कमिटमेन्ट पूरा गर्नुभयो । धेरै बस्नुभयो । उहाँ आउनुहुन्छ कि हुँदैन भन्ने तपाईंहरूको प्रश्न थियो । धेरै दिन बसेको भए धेरै बस्न मिल्छ भन्ने प्रश्न उठ्थ्यो,’ प्रवक्ता झाले भने ।
उता पार्टीको केन्द्रीय समिति निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का केही सदस्यहरूले पनि उम्मेदवारी दिएका छन् । प्रारम्भिक सूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गण्डकी प्रदेश खुलातर्फबाट उम्मेदवारी दिएका छन् ।
त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनाल खुलातर्फ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ बागमती प्रदेश खुलातर्फ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम बागमती प्रदेशतर्फबाट मैदानमा आउने तयारी गरिरहेका छन् ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादी कर्णाली भूगोलतर्फ, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता कोशी भूगोलतर्फ, शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेल केन्द्रीय सदस्यतर्फ तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी सुदूरपश्चिम खुलातर्फ केन्द्रीय सदस्यका लागि मैदानमा आउँदै छन् ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले खुला मधेशी समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । बुधबार बिहान साढे ८ बजेबाट सुरु हुने मतदानको समय दुईपटक सारेर राति ८ बजे पुर्याइएको छ ।
प्रकाशित मिति: बुधबार, असार १०, २०८३
२०:१६
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
बालेन शाह
काठमाडौँ
स्वर्णिम वाग्ले