मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१४ गाउँपालिकाले ल्याएनन् समयसीमाभित्र बजेट, अध्यक्षको अस्वस्थतादेखि सहमति अभावसम्म

ratopati.com · Wed Jun 24 14:52:14 GMT 2026

काठमाडौँ । देशभरका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट कानुनी समयसीमाभित्र गाउँसभामा पेस गरेका छन्।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार देशभर रहेका ४ सय ६० गाउँपालिकामध्ये ४ सय ४६ वटा अर्थात् करिब ९७ प्रतिशत गाउँपालिकाले असार १० गतेभित्र नीति, कार्यक्रम तथा बजेट गाउँसभामा पेस गरेका छन्।

महासङ्घका अनुसार बाँकी १४ गाउँपालिकामा भने बजेट पेस हुन सकेको छैन। तीमध्ये ५ वटा गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसके पनि बजेट भने अझै पेस गर्न बाँकी रहेको जानकारी प्राप्त भएको महासङ्घका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले जानकारी दिए ।

बजेट पेस गर्न नसकेका गाउँपालिकाहरूमा तयारी नपुग्नु, अध्यक्ष अस्वस्थ हुनु, अध्यक्षका परिवारका सदस्य बिरामी भई जिल्ला बाहिर रहनु, प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुनु तथा बजेट निर्माणमा सहमति जुट्न नसक्नु लगायतका कारण देखिएको महासङ्घले जनाएको छ।

यद्यपि बजेट पेस हुन नसकेका गाउँपालिकाहरूले केही दिनभित्रै गाउँसभा आह्वान गरी नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने जानकारी प्राप्त भएको महासङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार १० गतेभित्र सम्बन्धित गाउँ वा नगरसभामा पेस गरिसक्नुपर्ने व्यवस्था छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय