मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विराटनगर महानगरको बजेट : महिला उद्यमीलाई २५ प्रतिशत छुट

baahrakhari.com · Wed Jun 24 15:11:24 GMT 2026

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुशासन, संस्थागत विकास तथा कर प्रणालीको विस्तारलाई प्राथमिकतामा राखेको छ ।

बुधबार नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख शिल्पा निराला कार्कीले विभिन्न वर्ग र समुदायलाई लक्षित कर छुट तथा सहुलियतका कार्यक्रम घोषणा गरिन् ।

महानगरले महिला उद्यमशीलता प्रवर्धन गर्न व्यवसाय दर्ता तथा नवीकरण शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । यस्तै, अपांगता भएका नागरिकले सञ्चालन गर्ने व्यवसायमा दर्ता तथा नवीकरण शुल्क पूर्ण रूपमा माफी गरिने भएको छ ।

एकल महिलाको आर्थिक आत्मनिर्भरतालाई प्रोत्साहन गर्न महिलाद्वारा सञ्चालित व्यवसायमा व्यवसाय करमा २५ प्रतिशत छुट प्रदान गरिनेछ । साथै, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई व्यवसाय दर्ता र नवीकरणमा शतप्रतिशत छुट दिइने नीति महानगरले लिएको छ ।

लैंगिक हिंसापीडित महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूको विवरण गोप्य राख्दै व्यवसाय दर्ता तथा नवीकरणमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

महानगरमा दर्ता नभई सञ्चालनमा रहेका व्यवसायलाई करको दायरामा ल्याउन विशेष अभियान सञ्चालन गरिने उल्लेख छ । अन्य निकायमा दर्ता भइसकेका तर महानगरमा दर्ता नभएका व्यवसायलाई विगत एक आर्थिक वर्ष र चालु आर्थिक वर्षको कर मात्र लिएर दर्ता गरिने व्यवस्था बजेटमा उल्लेख गरिएको छ ।

कर प्रशासनलाई प्रभावकारी बनाउन नियमित रूपमा कर तिर्ने असल करदातालाई सम्मान गर्ने, दर्ता तथा नवीकरण नगरी सञ्चालन भएका व्यवसायको सूक्ष्म अनुगमन गर्ने तथा स्वयंसेवक परिचालनमार्फत करदाता शिक्षा अभियानलाई निरन्तरता दिने नीति लिइएको छ । सबै प्रकारका कर नेपाल सरकारको ‘सूत्र’ प्रणालीमार्फत संकलन गर्ने र डिजिटल माध्यमबाट कर भुक्तानीलाई प्रोत्साहन गरिने महानगरले जनाएको छ ।

आय अनुमान घट्यो

महानगरले आगामी आर्थिक वर्षमा कुल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ आय हुने अनुमान गरेको छ । यसमध्ये आन्तरिक आयबाट १ अर्ब २७ करोड २० लाख रुपैयाँ, विभिन्न संघसंस्थाको अनुदानबाट १ करोड १६ लाख रुपैयाँ तथा बैंक मौज्दातबाट १४ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।

चालु आर्थिक वर्षका लागि महानगरले ३ अर्ब ६८ करोड २८ लाख रुपैयाँ आय हुने अनुमान गरेको थियो । तर, चालु आर्थिक वर्षमा कुल अनुमानित आयको करिब ६२ प्रतिशत मात्र अर्थात २ अर्ब २६ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

आन्तरिक आयतर्फ १ अर्ब २७ करोड २० लाख रुपैयाँ लक्ष्य राखिएकोमा ४४ करोड ८५ लाख रुपैयाँ मात्र संकलन भएको छ । संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, सशर्त अनुदान तथा प्रदेश सरकारका केही अनुदान शीर्षकमा समेत लक्ष्यअनुसार रकम प्राप्त हुन सकेन ।

राजस्व बाँडफाँटअन्तर्गत सवारी कर, मनोरञ्जन कर, विज्ञापन कर, घरजग्गा रजिस्ट्रेसन दस्तुर तथा मूल्य अभिवृद्धि करबाट अपेक्षाभन्दा कम आम्दानी भएको तथ्य बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

महानगरले आगामी वर्ष करको दर बढाउनेभन्दा करको दायरा विस्तार गर्ने, सबै व्यवसायको अभिलेख तयार गर्ने तथा कर प्रशासनलाई प्रविधिमैत्री बनाउने रणनीति अघि सारेको छ ।

#विराटनगर महानगरपालिका

#बजेट २०८३/८४

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)