मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनीका तीन गाउँपालिकाले ल्याउन सकेनन् बजेट

lokaantar.com

लुम्बिनी प्रदेशका ७३ गाउँपालिकामध्ये कपिलवस्तुको मायादेवी र शुद्धोधन तथा रुपन्देहीको कोटहीमाई गाउँपालिका बाहेक अन्य सबै गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम र बजेट समयमै पेस गरेका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अनुसार देशभरका ४६० गाउँपालिकामध्ये ४४६ अर्थात ९७ प्रतिशत गाउँपालिकाले असार १० भित्रै गाउँसभामार्फत बजेट पेश गरेका छन् ।

बाँकी १४ गाउँपालिकामध्ये केहीले तयारी नपुगेको, जनप्रतिनिधिको अस्वस्थता, प्रशासनिक सरुवा तथा सहमति अभावका कारण बजेट पेस गर्न नसकेको महासंघले जनाएको छ ।

लुम्बिनी प्रदेशमा रहेका ७३ गाउँपालिकामध्ये ७० गाउँपालिकाले समयमै बजेट पेस गरी उल्लेखनीय उपलब्धि हासिल गरेका छन् । यसले स्थानीय तहमा बजेट तथा नीति निर्माण प्रक्रियामा सुधार र संस्थागत क्षमता वृद्धि भएको संकेत गरेको छ ।

गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका प्रदेश समन्वय अधिकृत रविन गौतमका अनुसार अधिकांश गाउँपालिकाले समयमै बजेट पेस गर्नु संघीय शासन प्रणालीको सकारात्मक अभ्यास हो ।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार देशभर कोशी प्रदेशका ९५ प्रतिशत, बागमती र गण्डकी प्रदेशमा लगभग शतप्रतिशत, लुम्बिनीमा ९६ प्रतिशत, कर्णालीमा ९६ प्रतिशत र सुदूरपश्चिममा पनि ९६ प्रतिशत गाउँपालिकाले बजेट पेस गरेका छन् ।

महासंघले असार १० भित्र बजेट पेस गर्न नसकेका गाउँपालिकाहरूले छिट्टै गाउँसभा सम्पन्न गर्ने तयारी गरिरहेको जनाएको छ ।

स्थानीय सरकारको दोस्रो कार्यकालको यो पाँचौं अर्थात अन्तिम नीति तथा कार्यक्रम र बजेट सत्र भएको भन्दै महासंघले देशभर उत्साहजनक रूपमा बजेट प्रस्तुत भएको उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)