आयल निगमको ट्याङ्करबाट ९७३ लिटर पेट्रोल चोरी
nagariknews.nagariknetwork.com · Wed Jun 24 15:31:15 GMT 2026

नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरमा पार्किङ गरी राखिएको ट्याङ्करबाट ९७३ लिटर पेट्रोल चोरी भएको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी) को सिलिगुडी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी ल्याइएको ट्याङ्करबाट इन्धन चोरी भएको पुष्टि भएपछि निगमले प्रचलित नियमावली अनुसार ढुवानीकर्ताबाट दोब्बर जरिवाना असुल गरेको हो।
निगमका अनुसार श्री नवीन ढुवानी सेवा प्रा.लि. को ‘को १ ख ६९१०’ नम्बरको ट्याङ्करले असार ६ गते सिलिगुडीबाट इन्धन लोड गरेको थियो। उक्त ट्याङ्कर मिति ७ गते आइतबार बिहान करिब ८:०० बजे विराटनगरस्थित निगमको कार्यालयभन्दा ३०० मिटरको दूरीमा रहेको कञ्चनवारीस्थित पार्किङमा आइपुगेको थियो।
र, भोलिपल्ट अर्थात् असार ८ गते बिहान ९:०० बजे ट्याङ्कर पार्किङस्थलबाट गायब भएको जानकारी ढुवानीकर्ताले निगमलाई गराएका थिए।
ट्याङ्कर हराएको सूचना प्राप्त भएलगत्तै निगमले जिल्ला प्रहरी कार्यालय मोरङलाई लिखित जानकारी गराएको थियो। प्रहरी र निगमको टोलीले सीसीटीभी फुटेज अध्ययन गर्दा उक्त ट्याङ्कर ८ गते बिहान ३:०३ बजे पार्किङबाट बाहिरिएर नोवेल अस्पतालतर्फ मोडिएको देखिएको थियो।
खोजी गर्ने क्रममा उक्त ट्याङ्कर विराटनगरबाट करिब १७ किलोमिटर टाढा सुनसरीको भोक्राहा गाउँपालिका–८ स्थित हुलाकी राजमार्गमा बेवारिसे अवस्थामा फेला परेको कार्यालय प्रमुख पुष्कर कार्कीले जानकारी दिए।
‘ट्याङ्कर फेला पर्दा त्यसको ताला काटिएको अवस्थामा थियो,’ कार्यालय प्रमुख कार्कीले भने, ‘त्यसपछि जिल्ला प्रहरी कार्यालय सुनसरी, निगमका कर्मचारी र ढुवानीकर्ताको रोहवरमा मुचुल्का तयार गरी ट्याङ्करलाई पुनः निगमको डिपोमा ल्याई सिल गरी सुरक्षित राखिएको थियो।’
चोरी भएको परिमाण यकिन गर्न बुधबार दिउँसो १:०० बजे जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, सञ्चारकर्मी, निगमका प्रतिनिधि र ढुवानीकर्ताको रोहवरमा ट्याङ्करको सिल खोली परिमाण जाँच गरिएको थियो।
जाँचका क्रममा ट्याङ्करमा हुनुपर्ने २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल कम पाइएको निगमले पुष्टि गरेको छ। ट्याङ्करमा बाँकी रहेको १९ हजार २७ लिटर पेट्रोल निगमको भण्डारणमा खाली गरिएको छ।
निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम चोरी भएको ९७३ लिटर पेट्रोलको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरिएको छ।
निगमले ढुवानीमा संलग्न पक्षको लापरवाहीका कारण इन्धन चोरी भएको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको हो।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)