वीरगन्ज महानगरको बजेटमा झन्डै सवा अर्ब वृद्धि, आगामी वर्षलाई ४ अर्ब ४२ करोड विनियोजन
nagariknews.nagariknetwork.com · Wed Jun 24 15:37:35 GMT 2026

मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा झन्डै १ अर्ब १९ करोड रुपैयाँले बढी हो।
बुधबार आयोजित महानगरको २०औँ नगरसभामा कार्यवाहक मेयर इम्तियाज आलमका तर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आय–व्ययको अनुमानसहित बजेट प्रस्तुत गरेका हुन्। चालु आर्थिक वर्ष २०८२/०८३ मा महानगरले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो।
प्रस्तावित बजेटअनुसार चालू खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ५४.३ प्रतिशत विनियोजन गरिएको छ। यस्तै, पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ अर्थात् ४४.६ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ अर्थात् १.१ प्रतिशत छुट्याइएको छ।
महानगरले आगामी वर्षको खर्च व्यवस्थापनका लागि विभिन्न स्रोत तय गरेको छ। संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख, आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार, घरजग्गा रजिष्ट्रेशन शुल्कबाट ४५ करोड, गत वर्षको नगद मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार तथा नगर विकास कोषबाट १५ करोड रुपैयाँ जुटाइने उल्लेख गरिएको छ।
बजेट प्रस्तुत गर्दै जगत साह कानुले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्य सेवा सुधार, सरसफाइ व्यवस्थापन, वन तथा वातावरण संरक्षण, कृषि, पर्यटन तथा उद्योग प्रवर्द्धन, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण तथा प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
नगरसभामा यसअघि कार्यवाहक मेयर इम्तियाज आलमले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वीरगन्जलाई डिजिटल र सुशासनयुक्त महानगर, नागरिक–केन्द्रित सेवा प्रणाली भएको सहर, हरित तथा दिगो सहरी संरचनायुक्त क्षेत्र, उद्यमशीलता र लगानीको केन्द्र तथा अवसर सिर्जना गर्ने आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत गरे।
नीति तथा कार्यक्रममा दिगो विकास लक्ष्यको स्थानीयकरण, आधुनिक र गुणस्तरीय सहरी पूर्वाधार निर्माण, सुरक्षित तथा व्यवस्थित बस्ती विकास, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि, कृषि तथा उद्यम विकास, लगानी र पर्यटन प्रवर्द्धन, सुशासन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा तथा समावेशी विकासलाई प्रमुख प्राथमिकता दिइएको उल्लेख गरिएको छ। साथै, आन्तरिक आय अभिवृद्धि, प्रक्रियागत पुनर्संरचनामार्फत सेवा प्रवाह सुधार, प्रविधिमैत्री प्रशासन, नागरिक सहभागितामा आधारित विकास व्यवस्थापन तथा सार्वजनिक स्रोत–साधनको पारदर्शी र परिणाममुखी परिचालनमा विशेष जोड दिइएको छ।
कार्यवाहक मेयर आलमले कृषि क्षेत्रको आधुनिकीकरण, विविधीकरण तथा व्यवसायीकरणलाई निरन्तरता दिँदै आधुनिक प्रविधिमा आधारित उत्पादन प्रणाली अपनाइने बताए। उनले मुख्य खाद्यान्न बाली गहुँको उत्पादकत्व वृद्धि गर्न कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत गहुँको बीउ वितरण कार्यक्रमलाई निरन्तरता दिइने जानकारी पनि दिए।
आलमकै अध्यक्षतामा सम्पन्न नगरसभाको २०औँ अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरा, नगरकार्यपालिका सदस्य, ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्य तथा महानगरका कर्मचारीहरूको सहभागिता रहेको थियो।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
सरोज गुरागाईं