६ वटै महानगरपालिकाको बजेट सार्वजनिक : कसको कति ?
nepalviews.com · Wed Jun 24 15:57:30 GMT 2026

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि देशका ६ महानगरपालिकाले बजेट सार्वजनिक गरेका छन् ।
बजेट सार्वजनिक गरेका महानगरहरूले पूर्वाधार, सुशासन, सेवा प्रवाह र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म अधिकांश महानगरको खर्च औसत ५० प्रतिशत मात्र छ । तर यसपटक केही महानगरले बजेट बढाएर र केहीले घटाएर ल्याएका छन् ।
काठमाडौं महानगरपालिकाले सबैभन्दा बढी २५ अर्ब ८८ करोडको बजेट ल्याएको छ । चालु आर्थिक वर्षमा २५ अर्ब ११ करोड बजेट रहेकोमा यसपटक करिब ७७ करोडले बढेको छ । काठमाडौं महानगरले ६१ प्रतिशत बजेट छुट्याएर पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिएको छ ।
ललितपुर महानगरपालिकाले ७ अर्ब ४८ करोड ८७ लाखको बजेट ल्याएको छ । चालु आर्थिक वर्षमा ७ अर्ब ४७ करोड ४१ लाख बजेट रहेकोमा सामान्य वृद्धिसहित बजेट ल्याएको छ । यद्यपि, ललितपुरले पुँजीगत खर्च घटाएको छ ।
पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड २५ लाखको बजेट ल्याएको छ । चालु आर्थिक वर्षमा ८ अर्ब ३५ करोड १२ लाख बजेट रहेकोमा यसपटक करिब १ अर्ब २० करोड घटाएको छ । चालु आर्थिक वर्षमा जेठ मसान्तसम्म ४० प्रतिशत मात्र खर्च गरेको पोखरा महानगरले पर्यटन, पूर्वाधार र सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ ।
भरतपुर महानगरपालिकाले ५ अर्ब ५१ करोड ७० लाखको बजेट ल्याएको छ । चालु आर्थिक वर्षमा ५ अर्ब २२ करोड रुपैयाँ रहेको बजेट यसपटक करिब ३० करोडले बढेको छ । भरतपुरले गौतमबुद्ध क्रिकेट रंगशाला, सडक मर्मतलगायत क्षेत्रलाई प्राथमिकता दिएको छ ।
वीरगन्ज महानगरपालिकाले ४ अर्ब ४२ करोड ३४ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षमा ३ अर्ब २२ करोड ४८ लाख रहेकोमा यसपटक करिब १ अर्ब २० करोडले बजेट बढेको छ । वीरगन्जले शिक्षा, स्वास्थ्य, सरसफाइलगायत क्षेत्र र उद्योग प्रवर्द्धनलाई प्राथमिकता दिएको छ ।
विराटनगर महानगरपालिकाले ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षमा ३ अर्ब ६८ करोड २८ लाख रहेकोमा यसपटक करिब १२ करोडले घटाएर बजेट ल्याएको छ । विराटनगरले पूर्वाधार विकास क्षेत्रमा सबैभन्दा बढी ४४.७६ प्रतिशत बजेट छुट्याएको छ ।
यसरी आगामी वर्षका लागि ६ वटै महानगरको कुल बजेट करिब ५४ अर्ब ३ करोड पुगेको छ । चालु आर्थिक वर्षमा महानगरहरूको कुल बजेट करिब ५३ अर्ब ७ करोड थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ