मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशन भद्रगोल, व्यवस्थापकीय कमजोरी छताछुल्ल

shilapatra.com · Wed Jun 24 15:55:24 GMT 2026

गत आइतबार सुरु भएको रास्वपाको पहिलो महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण अझै सकिएको छैन । जबकि पार्टीले पहिलोपटक सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बुधबार सम्पूर्ण प्रक्रिया सक्नुपर्ने थियो । तर, अहिलेसम्म चुनाव हुन सकेको छैन ।

आइतबार उद्घाटनसत्र सकेपछि सोमबार बिहान ८ः३० बजे बन्दसत्र सुरु गर्ने भनिएको थियो । तर, मधेश प्रदेश र अन्य केही स्थानको मतदाता नामावली प्रक्रिया टुङ्ग्याउन समस्या उत्पन्न भएपछि बन्दसत्र डेढ दिन पछि धकेलियो । बन्दसत्र धकेलिएपछि देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिको खर्च बढेको छ । सोही कुरालाई मध्यनजर गर्दै सभापति रवि लामिछानेले आर्थिक रूपमा अप्ठ्यारो पर्नेलाई महाधिवेशन प्रतिनिधिबापत तिर्नुपर्ने ५ हजार दस्तुर फिर्ता लिन सकिने बताएका थिए ।

कतिपय प्रतिनिधिले उक्त रकमसमेत फिर्ता लिएका छन् । सुर्खेतबाट प्रतिनिधि बनेर आएका एक पुरुष मतदाताले आफूलाई आर्थिक रूपमा समस्या परेकै कारण ५ हजार रुपैयाँ आयोजकसँग फिर्ता मागेको बताए । उनले निश्चित खर्च बोकेर आएका आफूजस्ता अन्य साथीहरूले पनि प्रतिनिधिबापतका दस्तुर फिर्ता लिएको जानकारी दिए ।

हिजो मङ्गलबार बेलुका द्रुतगतिमा बन्दसत्र सकिएपछि सरासर निर्वाचन प्रक्रिया सकिन्छ भन्ने धेरै प्रतिनिधिलाई लागेको थियो । किनकि सोही दिनको सम्बोधनमा रवि लामिछानेले भनेका थिए, ‘भोलि बिहान ८ः३० बजेदेखि मतदान प्रक्रिया सुरु हुन्छ ।’

सभापति लामिछानेको भनाइ पत्याएर बेलैमा भोट खसाली घर जाने योजना बनाएर आएकी स्याङ्जाकी चण्डिका सापकोटा जस्तै अरू पनि धेरै प्रतिनिधि चितवन उद्योग सङ्घको परिसरमा भेटिए । चितवननजिकका जिल्लाबाट प्रतिनिधि बनेका आएका उनीहरू दिवा खानाअघि नै भोट खसालेर घर जाने योजनामा आएका थिए । तर, बुधबार ९ बजिसक्दा पनि भोट हाल्न नपाएपछि कतिपय त दिउँसै घर गइसकेको सापकोटाले जानकारी दिइन् । उनले होटेल चेक आउट गरेर आएका आफूजस्ता धेरै साथीहरू दिनभर दोधार मनस्थितिमा बसेको बताइन् ।

दिउँसो ५ बजे भोटिङ मेसिन राखिएको हलबाहिर एक हुल महाधिवेशन प्रतिनिधि सांसद सुशान्त वैदिक, मनिष खनाल र यज्ञमणि न्यौपानेलाई घेरिहरेका थिए । सुनसरीबाट प्रतिनिधि बनेका आएका एक मतदाताले व्यवस्थापकीय हेलचेक्राइँले सीमा नाघेको र किन यस्तो भएको आफूलाई चित्तबुझ्दो कारण चाहिएको भन्दै आक्रोश पोखे ।

जवाफमा न्यौपानेले आफूलाई पनि त्यही अनुभव भएको र नेताहरूलाई पटक–पटक भनिरहेको जवाफ दिए । उनले समेत आफूसँग जिज्ञासा राख्ने अधिकांश प्रतिनिधिलाई निर्वाचन आयोगको समूहसँग प्राविधिक ज्ञानको कमी रहेको सुनाई चित्त बुझाउने प्रयत्न गरिरहे । तर, उनको दाबीलाई प्रतिनिधिहरू पत्याउन तयार देखिएनन् । उनीहरू निर्वाचन आयोगको कमजोरीका कारणले मात्रै निर्वाचन प्रक्रिया धकेलिएको मान्न तयार छैनन् ।

४ वर्ष अघि स्थापना भएको रास्वपाले पहिलो महाधिवेशन गरेको हो । पहिलो चरणको ९९ केन्द्रीय सदस्य चुन्न मतदान हुँदै छ । सभापति पदका लागि संस्थापक सभापति रवि लामिछानेको मात्रै उम्मेदवारी परेको हुँदा निर्वाचन आयोगले उनलाई सर्वसम्मत सभापति घोषणा गरिसकेको छ । अब ९९ पदका लागि ३८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा उल्लेख छ । तर, अझैसम्म कति जनाले भोट हाल्दै छन् भन्ने मतदाताको नामावली सूची सार्वजनिक गर्न रास्वपाले सकेको छैन ।

रास्वपाका एक निवर्तमान सचिवालय सदस्यका अनुसार पार्टीको आन्तरिक व्यवस्थापनको त्रुटि छताछुल्ल देखिएको हो । आन्तरिक समायोजन प्रक्रियाका कारण मतदाता नामावली टुंग्याउन समय लागेको नेताहरू बताउँछन् ।

दिउँसो ४ बजे नेता मनिष झाले मिडिया ब्रिफिङमार्फत साँझ ७ः३० बजेदेखि मतदान प्रक्रिया सुरु हुने भने पनि राति १० बज्नै लाग्दासमेत मतदान सुरु भएको छैन । झाले पार्टीको कमजोरी स्वीकारेका छन् । उनले सबैतिरबाट आएका नेता कार्यकर्ताहरूको व्यवस्थापन गर्न समय लागेको हुँदा ढिला भएको र यसले मतदातामा पर्न गएको असुविधाप्रति आयोग टिम क्षमाप्रार्थी रहेको बताएका छन् ।

रास्वपा नेता नेत्र लामिछानेका अनुसार अहिले इलेकट्रोनिक भोटिङ मेसिनमा उम्मेदवारको नाम प्रविष्ट गर्ने कार्य सकिन लागेको छ । अब एक घण्टामा मेसिन तयार भएपछि १० बजेदेखि भोटिङ प्रक्रिया लगभग सुरु हुने उनको दाबी छ । ४ दिनअघि सुरु भएको रास्वपा महाधिवेशनमा अहिलेसम्म मतदान प्रक्रिया सुरु नहुनु गम्भीर व्यवस्थापकीय कमजोरी भएको सुदूरपश्चिमको कञ्चनपुरबाट प्रतिनिधि बनेर आएका गोकर्णप्रसाद लामिछानेले बताए ।

उनले आज रातभर केन्द्रीय सदस्यका लागि मतदान भए पनि पदाधिकारीका लागी भोलि पुनः मतदान हुने र अर्को दिन पनि बस्नुपर्ने भएकाले खर्चले डाँडा काट्न लागेको बताए । ‘वर्षाको बेला छ । सीमित खर्च लिएर आएका छौँ,’ उनले दुखेसो पोखे ‘हामी नयाँ पनि उही पुरानैको ढर्रामा हिँड्यौँ । चुनाव त २ दिन लम्बिइसक्यो । खर्च बढ्दै छ । तर, जति ढिला हुनु भयो । अब चुनाव राम्रोसँग होस् भन्ने लागेको छ ।’

प्रतिनिधिले आज साँझको खाना खाइसकेका छन् । कतिपय खाना खाइसकेर आराम गर्न निस्केका छन् भने कतिपय अब भोट हाल्न पाइएला भनेर कुरेर बसेका छन् । निर्वाचन आयोगले १० बजेदेखि भोट हाल्न सकिने र तयार हुनु भनेर माइकिङ गरिरहेको छ । तर, उनीहरूको हाउभाउले त्यो सूचनाप्रति विश्वस्त हुन सकेको आभास मिलेको देखिन्न ।

रास्वपा महाधिवेशनमा खाना खुवाउने जिम्मा दियालो फुडल्याण्डको छ । उसले हरेक दिन प्रतिनिधि, सुरक्षाकर्मी र अन्यलाई गरी कम्तीमा ५ हजारलाई खाना खुवाइरहेको छ । तर, भान्सामा काम गर्ने कर्मचारीका अनुसार आज दिउँसोको खाना खाने समयमा अघिल्लो दिनको जस्तो भिड देखिएको छैन । खाना व्यवस्थापन गर्ने कम्पनीले खाना खेर जान्छ भनेर बुधबार साँझको खानामा कसैलाई कुपनको व्यवस्था गरेको छैन । ‘मान्छे घटे । खाना नोक्सान होला भनेर कुपनबिनै छिराउनु भनेको छ’, खाना कम्पनीका एक कर्मचारीले भने ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३

२१:४०

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)