चीनले विश्वका सबैभन्दा शक्तिशाली सुपरकम्प्युटरहरूको अन्तर्राष्ट्रिय सूची TOP500 मा पहिलो स्थान हासिल गर्दै
barnanmedia.com · Wed Jun 24 16:14:56 GMT 2026

चीनले विश्वका सबैभन्दा शक्तिशाली सुपरकम्प्युटरहरूको अन्तर्राष्ट्रिय सूची TOP500 मा पहिलो स्थान हासिल गर्दै अमेरिकालाई पछि पारेको छ। सन् २०१७ पछि पहिलो पटक कुनै चिनियाँ सुपरकम्प्युटरले विश्व वरीयताको शीर्ष स्थान कब्जा गरेको हो।
चीनको शेन्जेनस्थित राष्ट्रिय सुपरकम्प्युटिङ केन्द्रमा विकसित LineShine नामक सुपरकम्प्युटरले 2.198 एक्साफ्लप्स (प्रति सेकेन्ड २ क्विन्टिलियनभन्दा बढी गणना) प्रदर्शन गर्दै अमेरिकाको El Capitan लाई उछिनेको TOP500 सूचीले जनाएको छ।
विशेष कुरा के छ भने LineShine पूर्ण रूपमा चीनमै विकसित गरिएको CPU प्रविधिमा आधारित छ र यसमा Nvidia, AMD वा Intel का GPU प्रयोग गरिएको छैन। यो उपलब्धिलाई अमेरिकाले चीनमाथि लगाएको उन्नत चिप निर्यात प्रतिबन्धबीच चीनको प्राविधिक आत्मनिर्भरताको संकेतका रूपमा हेरिएको छ।
यद्यपि विशेषज्ञहरूले TOP500 सूची मुख्यतः परम्परागत वैज्ञानिक गणनाको क्षमतामा आधारित हुने र आधुनिक कृत्रिम बुद्धिमत्ता (AI) कार्यभार मापन गर्ने प्रमुख सूचक नभएको बताएका छन्। AI सम्बन्धी बेन्चमार्कमा LineShine शीर्ष स्थानमा छैन।
नयाँ सूचीअनुसार अमेरिकाको El Capitan दोस्रो स्थानमा छ भने अन्य दुई अमेरिकी सुपरकम्प्युटर तेस्रो र चौथो स्थानमा रहेका छन्। जर्मनीको Jupiter पाँचौँ स्थानमा परेको छ। यी पाँचवटै हालसम्म सार्वजनिक रूपमा प्रमाणित “एक्सास्केल” सुपरकम्प्युटर हुन्।
यो उपलब्धिले अमेरिका–चीनबीच प्रविधि र उच्च प्रदर्शन कम्प्युटिङ क्षेत्रमा चलिरहेको प्रतिस्पर्धालाई अझ तीव्र बनाएको विश्लेषकहरूको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)