मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरेन्द्रनगरको नीति तथा कार्यक्रम सार्वजनिक

baahrakhari.com · Wed Jun 24 18:09:18 GMT 2026

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरलाई देशकै नमूना, प्रविधिमैत्री तथा आर्थिक रूपमा आत्मनिर्भर स्थानीय सरकारका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ ।

बुधबार सम्पन्न १९औँ नगरसभामा नगर प्रमुख मोहनमाया ढकाल भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सुशासन तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकताका साथ समेटिएको छ ।

उनले भनिन्, “वीरेन्द्रनगरले नेपाल सरकारको मापदण्डअनुसार उपमहानगरपालिका बन्ने सम्पूर्ण आधार पूरा गरिसकेको छ । अब नगरलाई शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर, स्वच्छ, स्वस्थ र समुन्नत शहरका रूपमा स्थापित गर्न नीति तथा कार्यक्रम केन्द्रित गरिएको छ ।”

नगरपालिकाले आगामी वर्ष पनि करका दर यथावत् राख्दै करको आधार र दायरा विस्तार गर्ने नीति लिएको छ । सबै करदाताको विवरणलाई डिजिटल प्रणालीमा आबद्ध गरी भौगोलिक सूचना प्रणाली मार्फत अभिलेखीकरण गरिने नगरपालिकाले बताएको छ ।

राजस्व चुहावट नियन्त्रण, करदाताको डिजिटल प्रोफाइल निर्माण, व्यवसाय दर्ता अभियान तथा कर प्रणालीलाई थप पारदर्शी बनाइने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

महिला, दलित, युवा तथा अपांगता भएका व्यक्तिद्वारा सञ्चालित स्थानीय कच्चा पदार्थमा आधारित घरेलु उद्योगलाई व्यवसाय शुल्कमा २० प्रतिशत छुट दिने व्यवस्था निरन्तर रहनेछ भने उत्कृष्ट करदातालाई नगर स्थापना दिवसमा सम्मान गरिने भएको छ ।

नगरपालिकाले वडा नं. १३, १४, १५ र १६ लाई तरकारी, फलफूल, दुग्ध तथा मासुजन्य उत्पादनका कृषि पकेट क्षेत्रका रूपमा विकास गर्ने घोषणा गरेको छ ।

#नीति तथा कार्यक्रम

#वीरेन्द्रनगर नगरपालिका

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)