बिहानै हुने भनिएको मतदान आधा रातसम्म भएन सुरू
setopati.com · Wed Jun 24 18:26:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरूका लागि अझै निर्वाचन सुरू भएको छैन।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरिसकेको छ। तर उनीहरूलाई भोट हाल्ने महाधिवेशन प्रतिनिधिहरूकै नामावली टुंगो नलाग्दा बुधबार बिहान ८ बजेबाट हुने भनिएको मतदान अहिले मध्यरातसम्म पनि सुरू नभएको हो।
पूर्वघोषित महाधिवेशन अवधि सकिएर थप एक दिन बितिसक्दा पनि मतदानको सुरसार नदेखेपछि असन्तुष्ट बनेका कतिपय प्रतिनिधिले भोट बहिष्कारको नारा लगाउन थालेका छन्।
बुधबार मतदानमा भाग लिएर आ-आफ्नो घर फर्किने तयारीमा होटलबाट चेक-आउट गरेर निस्केका प्रतिनिधिहरू सबभन्दा बढी अलमलमा छन्। उनीहरू न घर जान सकेका छन्, न बस्ने बासकै व्यवस्था छ। यस्तोमा महाधिवेशन स्थलमै रात बिताउन बाध्य भएको उनीहरूले बताएका छन्।
रास्वपामा महाधिवेशन प्रतिनिधि करिब ४१ सय पुगेको भनिएको छ। तर केही प्रदेशमा अझै फाइनल भइसकेको छैन।
यसबीच पार्टीको केन्द्रीय निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४ जनाले उम्मेदवारी दिएको भन्दै प्रारम्भिक सूची प्रकाशन गरेको छ।
केन्द्रीय सदस्य १५८ जना भए पनि ९९ जना चुनावमार्फत निर्वाचित हुने र बाँकीलाई पछि मनोनित गरिने रास्वपा विधानमा उल्लेख छ।
केन्द्रीय सदस्य निर्वाचनको नतिजा आएपछि बल्ल ८ जना पदाधिकारीको लागि चुनाव हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)