समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
ratopati.com · Wed Jun 24 21:38:06 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम तथा निर्णायक खेलहरू आज नेपाली समय अनुसार बिहान ३ः४५ बजेदेखि सुरु हुँदै छन् । यस समूहबाट नकआउट चरण (अन्तिम ३२) मा पुग्ने टोलीहरूको टुङ्गो लगाउन आज दुई रोमाञ्चक खेलहरू एकैसाथ हुनेछन् ।
अमेरिकाको मियामी स्टेडियममा हुने मुख्य आकर्षणको खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले स्कटल्याण्डको सामना गर्दै छ । ब्राजिलले आजको खेलका लागि आफ्नो सुरुवाती ११ सार्वजनिक गरिसकेको छ, जसमा मुख्य स्टार नेयमार अटाएका छैनन् । ब्राजिलको टोलीमा गोलकिपर एलिसन ब्याकरसहित ड्यानिलो, मार्किन्होस, ग्याब्रियल, सान्तोष, क्यासेमिरो, गुइमारेस, रायन, पाक्वेटा, भिनिसियस जुनियर र कुन्हा रहेका छन् । अघिल्ला खेलहरूमा मोरक्कोसँग १–१ को बराबरी र हाइटीलाई ३–० ले पराजित गरेको ब्राजिल ४ अंकका साथ समूहको शीर्ष स्थानमा छ ।
यसै समयमा समूह ‘सी’ को अर्को महत्त्वपूर्ण खेल एटलान्टा स्टेडियममा मोरक्को र हाइटीबिच हुँदैछ । मोरक्को पनि २ खेलबाट ४ अंक जोड्दै गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । मोरक्कोले यसअघि ब्राजिलसँग बराबरी खेल्नुका साथै स्कटल्याण्डलाई १–० ले पराजित गरेको थियो । आजको खेलमा हाइटीलाई पराजित गरे वा बराबरीमा रोके मोरक्को सिधै अघिल्लो चरणमा प्रवेश गर्नेछ । यता, कुनै पनि अंक जोड्न नसकेको हाइटीका लागि भने यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।
समूहको समीकरण अनुसार स्कटल्याण्डका लागि आजको खेल निकै चुनौतीपूर्ण छ । २ खेलमा ३ अंक जोडेको स्कटल्याण्ड तेस्रो स्थानमा छ । अघिल्लो चरण प्रवेशका लागि स्कटल्याण्डलाई ब्राजिल विरुद्ध जितको खाँचो छ । यदि स्कटल्याण्डले ब्राजिललाई हराएमा सिधै नकआउट चरणमा पुग्नेछ । तर, बराबरी वा हारको नतिजाले स्कटल्याण्डलाई अन्य समूहको नतिजामा निर्भर रहनुपर्ने ‘उत्कृष्ट तेस्रो’ टोलीको कठिन दौडमा पुर्याउनेछ । ४ अंकसहित शीर्ष स्थानमा रहेको ब्राजिललाई भने अघिल्लो चरण सुरक्षित गर्न आजको खेलमा बराबरी मात्रै पनि पर्याप्त हुने देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा