हर्मुज स्ट्रेटमा फसेका ११ हजार नाविकको उद्धार गर्ने तयारी
barnanmedia.com · Wed Jun 24 21:35:00 GMT 2026

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले संयुक्त राज्य अमेरिका-इजरायल र इरानबिचको द्वन्द्वका कारण खाडी क्षेत्र (हर्मुज स्ट्रेट) मा फसेका ११ हजारभन्दा बढी नाविकहरूलाई उद्धार गर्ने तयारी गरिरहेको छ।
आईएमओका महासचिव आर्सेनियो डोमिंग्वेजले भनेका छन्, ‘यो ठुलो स्तरको अभियान इरान, ओमान, संयुक्त राज्य अमेरिका र यस क्षेत्रका अन्य तटीय देशसँगको सहकार्यमा गरिनेछ।’
युद्ध अन्त्य गर्न गत हप्ता मात्र अमेरिका र इरानबिच अन्तरिम सम्झौता (एमओयू) मा इलेक्ट्रोनिक हस्ताक्षर भएको छ। तर अझै केही मुद्दा समाधान हुन बाँकी छन्।
यसबिच सम्झौता लागु गर्ने विषयमा यही असार ७ गते अर्थात् जुन २१ तारिख अमेरिका र इरानबिच स्विट्जरल्यान्डमा पहिलो चरणको वार्ता भएको थियो।
तर त्यसपछि दुई देशले फरक-फरक दाबी प्रस्तुत गरिरहेका छन्।
यसै क्रममा गत मंगलबार इरानले गत वर्ष अमेरिका र इजरायलद्वारा आक्रमण गरिएका आफ्ना प्रमुख आणविक स्थल निरीक्षणका लागि संयुक्त राष्ट्रसंघीय आणविक निगरानी निकायका निरीक्षकलाई अनुमति नदिने जनाएको छ।
इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) का निरीक्षकलाई पुनः प्रवेश दिन सहमत भएको भन्ने अमेरिकाको दाबी अस्वीकार गरेको हो।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आईएईएका महानिर्देशकसँग कुनै भेटवार्ता नभएको तथा अमेरिका र इजरायलको सैन्य आक्रमणबाट क्षति पुगेका आणविक केन्द्रको निरीक्षणसम्बन्धी कुनै योजना नरहेको दाबी गरेका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले भविष्यमा उच्चस्तरीय आणविक निरीक्षण स्वीकार गर्ने सहमति जनाएको दाबी गरिरहेका छन्।
गत वर्ष अमेरिका र इजरायलले इरानका फोर्डो, नातान्ज र इस्फहानस्थित आणविक केन्द्रमा आक्रमण गरेका थिए।
उक्त आक्रमणबाट भएको क्षतिको वास्तविक अवस्था भने स्पष्ट नभएको जनाइएको छ।
इरानका संयुक्त राष्ट्रसंघ राजदूत अली बहरेनीले पनि आईएईए निरीक्षकलाई प्रवेश दिने सम्बन्धमा कुनै निर्णय नभएको दाबी गरेका छन्।
यसैबिच इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले हर्मुज स्ट्रेट युद्धअघिको पूर्ण स्वतन्त्र अवस्थामा तत्काल फर्कन नसकिने धारणा राखेका छन्।
यद्यपि दुवै पक्षले जलमार्ग खुला राख्न सञ्चार संयन्त्र स्थापना गर्न सहमति जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
डोनाल्ड ट्रम्प