स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश
neplays.com · Wed Jun 24 22:55:00 GMT 2026
सहआयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्डले फिफा विश्वकपको नकआउट चरणमामा समूह विजेताका रुपमा स्थान पक्का गरेको छ।
समूह ‘बी’ अन्तर्गत भएको समूहचरणको अन्तिम खेलमा स्विट्जरल्यान्डसँग २-१ ले पराजित भएपनि क्यानडाले अन्तिम ३२ मा स्थान पक्का गरेको हो।
भ्यानकुभरमा भएको खेलमा रुबेन भार्गास र जोहान मान्जाम्बीले दोस्रो हाफको सुरुआती १२ मिनेटभित्र गोल गर्दै स्विट्जरल्यान्डलाई २-१ को जित दिलाए।
यससँगै स्विट्जरल्यान्ड लगातार चार विश्वकपमा नकआउट चरणमा पुग्ने तेस्रो राष्ट्र बनेको छ। यसअघि अर्जेन्टिना र फ्रान्सले मात्र यस्तो उपलब्धि हासिल गरेका थिए।
समूह विजेताको रूपमा अघि बढेको स्विट्जरल्यान्डले अब जुलाई ३ मा सोही रंगशालामा समूह ई, एफ, जी, एच, आई वा जे मध्ये कुनै एक समूहको तेस्रो स्थानमा रहेको टोलीसँग प्रतिस्पर्धा गर्ने छ।
यता, पराजित भए पनि क्यानडाले उपविजेताका रूपमा पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाउन सफल भएको छ। यो क्यानडाको विश्वकप इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हो। तर समूह विजेता बन्न नसकेपछि प्रशिक्षक जेसी मार्सको टोलीले घरेलु मैदानको फाइदा गुमाएको छ। अब क्यानडाले बाँकी खेलहरू आफ्नै देशमा खेल्न पाउने छैन। क्यानडाको अर्को खेल जुन २८ मा क्यालिफोर्नियास्थित लस एन्जलस स्टेडियममा समूह ‘ए’ को उपविजेता टोलीविरुद्ध हुने छ।
पहिलो हाफमा दुवै टोलीले खासै अवसर सिर्जना गर्न सकेनन्। आफ्नो १४९औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका कप्तान ग्रानिट साकाले केही सिमित अवसर सिर्जना गरेपनि पहिलो हाफ स्विट्जरल्यान्ड गोलरहित बराबरीमा रोकिएको थियो। गत साता कतारविरुद्ध ६ गोल गरेको क्यानडाले यस खेलमा भने अपेक्षित प्रदर्शन गर्न सकेन।
पहिलो हाफमा उसले केवल तीनवटा प्रहार मात्र टार्गेटमा राख्न सकेको थियो। दोस्रो हाफ सुरु भएको एक मिनेट नबित्दै खेलले रोमाञ्चक मोड लियो। मान्जाम्बीले दिएको क्रसलाई रुबेन भार्गासले सहज रूपमा गोलमा परिणत गर्दै यस प्रतियोगितामा आफ्नो दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाए।
त्यसको ११ मिनेटपछि एम्बोलोको उत्कृष्ट होल्डअप खेलको फाइदा उठाउँदै मान्जाम्बीले पेनाल्टी क्षेत्रभित्रबाट गोल गरे र स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए। खेल सकिन १४ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी प्रमिस डेभिडले गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि सम्भव भएन्। उनले मैदान प्रवेश गरेको केवल ७६ सेकेन्डमै गोल गरेका थिए।
त्यसपछि थप गोल हुन नसक्दा क्यानडा पराजित भयो। पराजयपछि पनि उपविजेताका रुपमा नकआउटमा स्थान बनाउन क्यानडा सफल रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
फिफा