कूटनीतिमा अब्बल महिला
gorkhapatraonline.com · Wed Jun 24 23:37:49 GMT 2026

महिला वर्गको उपस्थिति विश्व कूटनीतिमा बलियो बनाउने अवधारणामा काम गर्न संयुक्त राष्ट्रसङ्घले जोड दिएको छ । बुधबार कूटनीतिमा महिलासम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउँदै गर्दा नेपालमा पनि कूटनीतिक वृत्तमा पाइला जमाउने आँट र हिम्मतका साथ अगाडि बढेका महिलाका लागि सहज वातावरण निर्माण गर्न परराष्ट्र मन्त्रालयले हरसम्भव प्रयास गरिरहेको प्रवक्ता लोकबहादुर क्षेत्री बताउनुहुन्छ । उहाँले भन्नुभयो, “निर्णायक तहमा समेत महिला नेतृत्वको भूमिका प्रशंसनीय रहेको उदाहरण विगत र वर्तमान दुवैले देखाइरहेको छ ।”
त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा अध्ययन गर्ने महिलाको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । त्यस्तै परराष्ट्र मन्त्रालयमा गत वर्ष भित्रिएको जनशक्तिमा महिलाको सङ्ख्या उल्लेख्य रहेको थियो । मन्त्रालयको कुल जनशक्ति ३७५ जनामध्ये १०८ जना महिला छन् । अन्य सेवाबाट काजमा रहेका ८५ मध्ये पनि १५ जना महिला छन् । वर्तमान संरचनामा कन्सुलर विभागमा महानिर्देशक दुरपदा सापकोटा र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक रोजिना ताम्राकार निर्णायक पदमा रहनुभएको छ । वर्तमान समयमा नेपालको विभिन्न मुलुकमा रहेका ३१ वटा राजदूतावासमध्ये छ वटा दूतावास महिला राजदूतले हाँकिरहेका छन् । यसअघि परराष्ट्रसचिव रहनुभएकी सेवा लम्साल अहिले युरोपको मुटु मानिएको बेल्जियमको राजदूत रहनुभएको छ । उहाँले परराष्ट्रसचिव रहनुहुँदा नेपालमा भएका विभिन्न उच्चस्तरीय भ्रमण तथा विदेशमा नेपालबाट भएका उच्चस्तरीय भ्रमणको सफल व्यवस्थापन गरेर आफूलाई प्रमाणित गरिसक्नुभएको छ । अहिले राजदूतका रूपमा युरोपको राजधानी बेल्जियमबाट नेपालको राष्ट्रिय हितलक्षित कार्यमा सक्रिय रहनुभएको छ ।
त्यस्तै पाकिस्तानको राजदूतका रूपमा रिता धितालले कार्यभार समाल्नुभएको छ । हत्तपत्त पुरुषसमेत जान नमान्ने पाकिस्तानको राजदूतका रूपमा रहन तयार भएर दुई देशबिचको मित्रवत् सम्बन्धलाई सबल बनाउन लाग्नुभएको छ । अन्य चार मुलुकमा भने कार्यवाहक राजदूत अहिले महिला रहनुभएको छ । जस अनुसार छिमेकी मुलुक चीनमा कार्यवाहक राजदूत रोशन खनाल हुनुहुन्छ । महिलाले दूतावासको कार्यभार समाल्न सक्छन् भन्ने उदाहरण बन्दै उहाँले भर्खरै मात्र परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण सफल बनाउन भूमिका निर्वाह गर्नुभएको थियो । यसरी समग्र आँकडा जोड्दा नेपालको कूटनीतिक वृत्तमा महिला सहभागिता २६.८ प्रतिशत रहेको छ ।
त्यस्तै डेनमार्कमा सावित्रा वली, साउदी अरेबियामा सिर्जना अधिकारी र मलेसियामा मुदिता वज्राचार्यले कार्यवाहक राजदूतका रूपमा आफ्नो कार्यकुशलता प्रस्तुत गरिरहनुभएको छ । सरकारले यी देशहरूमा नयाँ राजदूत पठाइनसकेको अवस्थामा पनि देशको प्रतिनिधिका रूपमा उहाँहरूले बलियो भूमिका निर्वाह गरिरहनुभएको प्रवक्ता क्षेत्रीले बताउनुभयो । राजदूत नियुक्तिमा मन्त्रालयको जनशक्तिबाट ५० र बाहिरबाट ५० प्रतिशत हुने प्रावधानमा उपस्थिति कमजोर देखिन्छ । तर अप्रत्याशित रूपमा आएको जिम्मेवारीमा महिलाले कार्यवाहक जिम्मेवारीमै पनि आफूलाई अब्बल साबित गरिरहनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभाले प्रत्येक वर्षको जुन २४ मा यो दिवस मनाउने घोषणा गरेको थियो । कूटनीतिमा महिलाको उपस्थितिले विश्व विकासलाई शान्तिपूर्ण सहअस्तित्वका आधारमा समृद्धितर्फ अग्रसर गराउन सक्ने क्षमता प्रत्येक राष्ट्रले आर्जन गर्न सक्ने विश्वास राष्ट्रसङ्घको छ ।
संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना मोहम्मदले दिवसको अवसरमा शुभकामना दिँदै भन्नुभएको छ, “महिलाहरू टेबलमा छन् र हाम्रा आवाज सुनिएका छन्, हाम्रा योगदानको कदर गरिएको छ भनेर महिलाको उपस्थिति सुनिश्चित गर्न हामी सबैले सम्भव भएसम्म पहल गर्नु पर्छ ।”
कूटनीतिज्ञ भनेका केवल अन्तर्राष्ट्रिय मामिलामा सहभागिता मात्र नभएर शान्तिका शिल्पकार, समानताका पक्षधर र विश्वव्यापी सहयोगको भविष्यलाई आकार दिने विश्व नेतृत्व मानिन्छ । विश्वले वर्तमानमा सामना गरिरहेका जटिल चुनौतीलाई सम्बोधन गर्न र थप समावेशी, न्यायपूर्ण र पुनरुत्थानशील समाज निर्माण गर्न महिलाको आवाज, दृष्टिकोण र नेतृत्व वर्तमानको आवश्यकता मानिएको सङ्घले औँल्याएको छ ।
विश्व आँकडा हेर्ने हो भने कूटनीतिमा महिलाहरूको प्रतिनिधित्व अझै कमजोर देखिन्छ । विश्वभर कुल राजदूत र स्थायी प्रतिनिधिमध्ये २२.५ प्रतिशत मात्र महिला छन् । लैङ्गिक विभेद पदसोपानमा अवरोधका रूपमा रहेकाले बढोत्तरी हुन नसकेको विश्व विश्लेषकहरूको अनुमान छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका २५ देशमा महिला राष्ट्रप्रमुख तथा सरकारप्रमुख छन् । महिलामन्त्री २२.९ प्रतिशत छन् । अमेरिका र युरोप औसत २९ प्रतिशत महिलालाई राजदूत दिने सवालमा अग्रस्थानमा छन् । यसपछि अफ्रिका २२ प्रतिशत, एसिया १३ प्रतिशत र मध्यपूर्व तथा उत्तर अफ्रिका ११ प्रतिशत महिला कूटनीतिमा सहभागी गराउने क्षेत्रका रूपमा दरिएका छन् ।
निर्णयकर्ताका रूपमा महिलाहरूको प्रतिनिधित्व हुँदा दिगो शान्ति, दिगो विकास र मानवीय मर्यादालाई अगाडि बढाउन सकिने धारणा विश्वव्यापी मञ्चका रूपमा रहेको राष्ट्रसङ्घको धारणा छ । महिला नेतृत्वले राष्ट्रिय प्राथमिकता र विश्वव्यापी चुनौतीहरूलाई चिर्दै मानव अधिकार, सुरक्षा र साझा समृद्धिलाई प्रवर्धन गर्ने समाधानमुखी कार्यलाई अघि बढाएको विभिन्न तथ्यले देखाएको छ । विभिन्न प्रगतिको बाबजुद पनि कूटनीतिक र राजनीतिक नेतृत्वमा महिलाहरूको प्रतिनिधित्व कम रहेकाले हरेक मुलुकले बढावा दिनुपर्ने सुझाइएको छ । शान्ति निर्माण, मध्यस्थता र द्वन्द्व समाधानमा महिलाको अर्थपूर्ण सहभागिताले थप समावेशी र दिगो परिणाम सिर्जनामा योगदान पु¥याइरहेको पनि राष्ट्रसङ्घले औँल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)