मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्विट्जरल्याण्ड समूह विजेता बन्दा क्यानाडाले पनि रच्यो इतिहास

lokaantar.com

सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह 'बी' को अन्तिम खेलमा स्विट्जरल्याण्डले आयोजक क्यानाडालाई २-१ गोल अन्तरले पराजित गर्दै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

भ्यानकुभरस्थित बीसी प्लेस रङ्गशालामा भएको गएरातिको रोमाञ्चक खेलमा स्विट्जरल्याण्डले जित निकाले पनि पराजित क्यानाडाले समेत ऐतिहासिक सफलता हात पारेको छ।

क्यानाडा आफ्नो विश्वकप इतिहासमा पहिलो पटक अन्तिम ३२ (नकआउट चरण) मा पुग्न सफल भएको हो।

५२ हजार ४ सय ९७ दर्शकको उपस्थितिमा भएको उक्त खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक र गोलरहित रहेको थियो। पहिलो हाफमा स्विट्जरल्याण्डका कप्तान ग्रानिट झाकाको नेतृत्वमा केही राम्रा अवसरहरू सिर्जना भए पनि क्यानाडाका गोलकिपर म्याक्सिम क्रेपेउले स्विट्जरल्याण्डका ब्रिल एम्बोलोको उत्कृष्ट प्रहारलाई बचाउ गरेका थिए।

दोस्रो हाफ सुरु हुनेबित्तिकै स्विट्जरल्याण्डले आक्रामक खेल देखायो। खेलको ४६औँ मिनेटमा जोहान मन्जाम्बीको पासलाई सदुपयोग गर्दै रुबेन भेर्गासले गोल गरी टोलीलाई सुरुवाती अग्रता दिलाए। स्विट्जरल्याण्डले आफ्नो दबाब कायमै राख्दै ५७औँ मिनेटमा दोस्रो गोल थप्यो। यसपटक पहिलो गोलमा पास मिलाएका मन्जाम्बी आफैँले गोल गरे। उनलाई ब्रिल एम्बोलोले सुन्दर पास मिलाइदिएका थिए।

खेलको ७६औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेको ७६ सेकेन्डमै प्रोमिस डेभिडले क्यानाडाका लागि एक गोल फर्काउँदै खेललाई २-१ को स्थितिमा ल्याए। एन. सालिबाको पासमा डेभिडले गोल गरेपछि क्यानाडाली समर्थकहरूमा उत्साह छाएको थियो, तर बाँकी समयमा थप गोल हुन नसक्दा स्विट्जरल्याण्ड २-१ ले विजयी भयो।

यो जितसँगै स्विट्जरल्याण्ड अर्जेन्टिना र फ्रान्सपछि पछिल्ला चारवटा विश्वकपमा लगातार नकआउट चरणमा पुग्ने तेस्रो राष्ट्र बनेको छ।

समूह विजेता बनेको स्विट्जरल्याण्डले अब जुलाई ३ मा भ्यानकुभरमै नकआउट चरणको खेल खेल्नेछ। अर्कोतर्फ, समूह 'बी' मा दोस्रो स्थान हासिल गरेको क्यानाडाले अब जुन २८ मा लस एन्जलसमा समूह 'ए' को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ।

पराजयका कारण क्यानाडाले अबका बाँकी खेलहरूमा भने आफ्नो घरेलु मैदानको फाइदा गुमाउनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय