मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कतार विश्वकपको समूह चरणबाटै बाहिरियो, बोस्निया-हर्जगोभिनाको नकआउट चरण पुग्ने आशा जीवितै

lokaantar.com

अमेरिकाको सिएटल स्टेडियममा गएराति भएको फिफा विश्वकप २०२६ को समूह 'बी' को अन्तिम खेलमा बोस्निया-हर्जगोभिनाले कतारमाथि ३-१ को सहज जित निकालेको छ।

यो जितसँगै बोस्नियाले आफ्नो इतिहासमा पहिलो पटक विश्वकपको नकआउट चरण (अन्तिम ३२) मा पुग्ने सम्भावनालाई जीवित राखेको छ।

६६ हजार ९ सय २५ दर्शकको उपस्थितिमा २९ डिग्री सेल्सियसको गर्मीका बीच भएको खेलमा बोस्नियाले सुरुदेखि नै कतारमाथि दबाब बनाएको थियो। खेलको २९औँ मिनेटमा १८ वर्षीय युवा खेलाडी केलिम अलाजवेगोविचले दुई कतारी डिफेन्डरलाई छक्याउँदै प्रहार गरेको उत्कृष्ट गोलमार्फत बोस्नियालाई सुरुवाती अग्रता दिलाए।

आफ्नो देशका लागि १५०औँ खेल खेलिरहेका ४० वर्षीय भेट्रान कप्तान एडिन जेकोको सक्रियतामा ३४औँ मिनेटमा बोस्नियाले दोस्रो गोलको उपहार पायो।

जेकोको प्रहार कतारी डिफेन्डर सुल्तान अल ब्रेकलाई लाग्दै गोलकिपर महमुद अबुनादाबाट आत्मघाती गोल हुन पुगेको थियो। यद्यपि, पहिलो हाफ सकिनुअघि ४२औँ मिनेटमा कतारका कप्तान हसन अल-हैदोसले एक गोल फर्काउँदै खेललाई २-१ को स्थितिमा ल्याएर खेलमा फर्किने प्रयास गरे।

दोस्रो हाफमा कतारले बराबरी गोलका लागि निकै संघर्ष गरे पनि सफल हुन सकेन। खेलको ८०औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका एर्मिन महमिचले गोल गर्दै बोस्नियाको ३-१ को जित निश्चित गरे। बोस्नियाका लागि विश्वकप इतिहासमा यो दोस्रो जित हो। यसअघि उसले सन् २०१४ को विश्वकपमा इरानलाई पराजित गरेको थियो।

जितका बाबजुद बोस्निया-हर्जगोभिना समूह 'बी' मा तेस्रो स्थानमा खुम्चिन पुगेको छ। क्यानाडासँग समान ४ अंक भए तापनि हेड-टु-हेडको नतिजाका कारण क्यानाडा दोस्रो बन्दै नकआउट चरणमा प्रवेश गर्‍यो। अब बोस्नियाले १२ वटा समूहमध्ये 'उत्कृष्ट ८' तेस्रो हुने टोलीको सूचीमा पर्न अन्य समूहका खेलहरूको नतिजा पर्खनुपर्नेछ।

यता, एसियन च्याम्पियन कतार भने समूहका तीनवटै खेलमा हार र बराबरीको नतिजा निकाल्दै मात्र १ अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय