बहुमत गुमेपछि नेतान्याहुको आरोप: अरब पार्टीहरूले धाँधली गरे
barnanmedia.com · Thu Oct 29 08:25:25 UTC 2026

काठमाडौँ — इजरायलमा सम्पन्न संसदीय निर्वाचनमा बहुमत गुमाएपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले धाँधली गरेर नतिजा प्रभावित पारेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल ‘एक्स’मार्फत लिकुड पार्टीको वक्तव्य सार्वजनिक गर्दै उनले घुसखोरी, धम्की, हिंसा, जालसाजी र प्रतिबन्धित सफ्टवेयरको प्रयोग गरी निर्वाचन ‘चोरी’ गरिएको दाबी गरेका हुन्।
नेतान्याहुका अनुसार अरब समुदायका मतदान केन्द्रहरूमा राम पार्टीका मतपत्र र नगदसहितका हजारौँ खाम फेला परेको, मतदान केन्द्रका कर्मचारीमाथि धम्की तथा हिंसा गरिएको, एउटै व्यक्तिले पटक-पटक मतदान गरेको र प्रतिबन्धित सफ्टवेयर प्रयोग गरिएको प्रमाण फेला परेको छ। लिकुड पार्टीले यी घटनासँग सम्बन्धित सयौँ बयान र प्रमाणहरू प्रहरी, आन्तरिक सुरक्षा निकाय (शिन बेट) तथा केन्द्रीय निर्वाचन समितिलाई बुझाउन लागेको जनाउँदै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ। उनले यस्ता हर्कतले इजरायली लोकतन्त्र र निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रहार गरेको टिप्पणी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)