किसानलाई कृषि उपज ढुवानीका लागि तुइनको भर
annapurnapost.com · Thu Oct 29 10:36:37 UTC 2026

रसुवा : गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीले गोसाइँकुण्ड गाउँपालिका–५ र स्याफ्रुबेँसी जोड्ने मोटरेबल पुल बगाएपछि हालसम्म पुनःनिर्माण हुन सकेको छैन। पुल नहुँदा आमाछोदिङ्मो गाउँपालिकाका किसानहरू कृषि उपज ओसारपसारका लागि जोखिमपूर्ण तुइनको भर पर्न बाध्य भएका छन्।
बाढीले पुल बगाएको दुई महिना बितिसक्दा पनि पुनःनिर्माण नहुँदा किसानको बारीमा रहेको करोडौँ मूल्यको तरकारी कुहिने अवस्थामा पुगेको छ। ‘तुइनबाट थोरै–थोरै ढुवानी गरेर कहिले बजार लैजाने ? पुल छिट्टै निर्माण भए मात्र ढुवानी सहज हुन्छ,’स्थानीय आमाछोदिङ्मो गाउँपालिका–३ का किसान मार लामाले भने। पुल बन्ने लामो प्रतीक्षासँगै किसानहरू आफ्नो मुख्य बाली बन्दा, जोखिम मोलेर तुइनबाट नदी तारेर काठमाडौँलगायतका बजारमा लैजान बाध्य छन्। बाढीका कारण यातायात सम्पर्क विच्छेद भएपछि स्थानीय किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिने वा उचित मूल्य नपाउने समस्या उत्पन्न भएको छ। वैकल्पिक मार्ग र पक्की पुलको अभावमा किसानहरू जोखिमपूर्ण तरिकाले भए पनि तुइनकै भरमा बन्दाकोबी नदी पार गराइरहेका छन्। ‘बारीमा फलेको बन्दा समयमै बजार पुर्याउन नसके कुहिएर जाने चिन्ता छ। यता पुल नबन्दा तुइनबाटै सामान तारेर गाडीसम्म पुर्याउनुपरेको छ,’स्थानीय किसान शुशीला तामाङले दुखेसो गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)