चाडपर्व खर्च नदिनेविरुद्ध उजुरी कारबाहीको चेतावनीपछि भुक्तानी
gorkhapatraonline.com · Fri Oct 30 01:02:51 UTC 2026

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वर्षमा एक पटक चाडपर्व खर्च उपलब्ध नगराउने रोजगारदाता प्रतिष्ठानलाई कारबाही गर्ने चेतावनी दिएसँगै श्रमिकले भुक्तानी पाउन थालेका छन् । विभाग र यस अन्तर्गत रहेको श्रम तथा रोजगार कार्यालयमा चाडपर्व खर्च नपाएका उजुरीमा कारबाही गर्न थालेसँगै त्यस्ता प्रतिष्ठानले श्रमिकलाई भुक्तानी गर्न थालेका हुन् ।
विभागका अनुसार दसैँका बेलामा मात्रै चाडपर्व खर्च नपाएको भन्दै साढे छ सय श्रमिकका उजुरी परेका छन् । यी त दसैँअघि कार्यालय समयभित्रै विभागको इमेल र पोर्टलमार्फत आएका उजुरीको सङ्ख्या हो । विभाग अन्तर्गतका श्रम कार्यालयमा विभिन्न जिल्लामा रहेका रोजगारदाता प्रतिष्ठानमा कार्यारत श्रमिकले ऐनमा भएको व्यवस्था अनुसार चाडपर्व खर्च नपाएको भनेर गर्ने उजुरीको सङ्ख्या योभन्दा अझै धेरै रहेको अनुमान छ । श्रम ऐन, २०७४ मा वर्षमा एक पटक चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था छ । श्रमिकले कुनै चाडपर्वका लागि माग गरेको अवस्थामा सोही चाडपर्वमा र माग नगरेको अवस्थामा दसैँमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने व्यवस्था छ । ऐनको व्यवस्था अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनु पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)