मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभ्य समाजका ज्येष्ठ नागरिक

gorkhapatraonline.com · Fri Oct 30 02:37:21 UTC 2026

ज्येष्ठ नागरिक समाजमा जिउँदा इतिहास हुन् । समाजका अभिन्न अङ्ग हुन् । उनीहरूका अनुभव, ज्ञान, सिपको संरक्षण र उपयोग गर्दै सम्मानपूर्वक बाँच्न पाउनुपर्ने वातावरण सिर्जना गर्ने राज्यको सामाजिक दायित्व पनि हो । उनीहरूले परिवार र समाजमा दिएको महत्वपूर्ण योगदानलाई सामाजिक सम्पदाका रूपमा लिनु पर्छ । सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक परिवर्तनसँगै ज्येष्ठ नागरिकको दैनिक जीवनशैलीमा धेरै परिवर्तन आएका छन् । यी परिवर्तनसँगै ज्येष्ठ नागरिकको जीवन चुनौतीपूर्ण पनि बन्दै गएको छ । सहरीकरण र बसाइँसराइले उमेरजन्य भेदभाव समाजमा बढ्दै गएको देखिन्छ । अर्कातर्फ ज्येष्ठ नागरिकको अधिकार संरक्षणमा गरिएका प्रयास पर्याप्त छैनन्, यसले गर्दा उनीहरूले भोग्नुपर्ने भेदभाव, दुव्र्यवहार र स्वास्थ्यलगायत अन्य सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक असर बढ्दै गएका छन् ।

जनसाङ्ख्यिक हिसाबले हेर्दा ज्येष्ठ नागरिकको सङ्ख्या पनि क्रमशः बढ्दै गएको पाइन्छ । एसिया प्रशान्त क्षेत्र विश्वकै सबैभन्दा तीव्र गतिमा बढ्दै गएको ज्येष्ठ नागरिकको सङ्ख्या बढी हुने आकलन छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका अनुसार एसिया प्रशान्त क्षेत्रमा सन् २०५० सम्ममा ६० वर्ष वा त्योभन्दामाथिको उमेरको जनसङ्ख्या १.३ बिलियन हुने अनुमान छ । यो वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले (अक्टोबर १) आयु बढाउने प्रणालीमा पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याएको छ । त्यति मात्रै होइन, सामाजिक संरक्षण, एकीकृत स्वास्थ्य, दूरगामी उपचार र हेरचाहमा जोड दिएको छ । यो सन्दर्भमा लामो आयुलाई स्वस्थ, उत्पादनशील, सम्मानित र समतामूलक जीवनमा रूपान्तरण गर्ने प्रक्रियामा सामाजिक सांस्कृतिक प्रणालीको भूमिका महत्वपूर्ण हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)