मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खाडीमा श्रमसेवा निर्यात

gorkhapatraonline.com · Fri Oct 30 02:46:12 UTC 2026

अमेरिका, इजरायल र इरानबिचको द्वन्द्व अन्त्य भई पश्चिम एसियामा दिगो शान्ति कायम भएपछि द्वन्द्वबाट प्रभावित ऊर्जा, उद्योग, यातायात तथा भौतिक पूर्वाधारको पुनर्निर्माण, आधुनिकीकरण र पुनर्स्थापनाले स्वाभाविक रूपमा गति लिने छ । यससँगै ऊर्जा पूर्वाधारको स्तरोन्नति, औद्योगिक उत्पादन क्षमताको विस्तार र व्यापारिक गतिविधिको पुनर्सञ्चालनबाट निर्माण, ऊर्जा तथा प्राविधिक सेवाका क्षेत्रमा दक्ष जनशक्तिको माग बढ्ने सम्भावना रहन्छ । खाडी मुलुकमा श्रमशक्ति आपूर्ति गर्ने प्रमुख देशमध्ये एक नेपालका लागि यस्तो परिस्थितिले अन्तर्राष्ट्रिय श्रमबजारमा श्रमसेवा निर्यातको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै आफ्नो उपस्थिति विस्तार गर्ने अवसर सिर्जना गर्ने छ । यस अवसरलाई वास्तविक आर्थिक लाभमा रूपान्तरण गर्न सम्भावित श्रम मागको समयमै पहिचान, पेसागत आवश्यकताको विश्लेषण र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप दक्ष जनशक्तिको विकास गर्नु आवश्यक हुन्छ ।

नेपालको वैदेशिक रोजगार नीतिको प्रभावकारिता विदेशमा पठाइने श्रमिकको सङ्ख्यात्मक वृद्धिबाट मात्र मूल्याङ्कन नगरी गन्तव्य मुलुकको विद्यमान तथा प्रक्षेपित श्रम माग अनुरूप आवश्यक पेसा, जनशक्तिको परिमाण, सिप तथा दक्षताको स्तर र अपेक्षित पारिश्रमिक पहिचान गरी प्रतिस्पर्धात्मक श्रमसेवा उपलब्ध गराउन सक्ने क्षमतालगायतका आधारमा मापन गर्नु पर्छ । यसका लागि श्रमबजारको मागमा आधारित सिप विकास प्रणाली, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त व्यावसायिक सिप प्रमाणीकरण, प्रभावकारी श्रम कूटनीति, रोजगारदातासँगको प्रत्यक्ष संस्थागत सहकार्य तथा पारदर्शी र सुरक्षित भर्ती प्रणालीबिच प्रभावकारी नीतिगत समन्वय आवश्यक हुन्छ । यस्तो रणनीतिक रूपान्तरणले नेपाललाई न्यून दक्ष श्रमिक आपूर्तिमा केन्द्रित परम्परागत अवस्थाबाट विशिष्टीकृत सिप, व्यावसायिक दक्षता र उच्च उत्पादकत्वमा आधारित श्रमसेवा निर्याततर्फ उन्मुख गराउन सक्छ । फलस्वरूप, श्रमिकको पारिश्रमिक तथा सुरक्षा अभिवृद्धि, विप्रेषणको गुणात्मक वृद्धि र राष्ट्रिय अर्थतन्त्रको उत्पादकत्व सुधारमा समेत योगदान पुग्न सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)