भुटानमा हिमताल विस्फोटपछि बाढी, सिँचाइ र ऊर्जा पूर्वाधारमा क्षति
corporatenepal.com · Fri Oct 30 03:50:06 UTC 2026

भुटान । भुटानमा हिमताल विस्फोटबाट आएको आकस्मिक बाढीले सौर्य ऊर्जाबाट सञ्चालित सिँचाइ आयोजना क्षतिग्रस्त बनाएको छ । बाढीले बगाएर ल्याएको गेग्रानका कारण राजमार्गको एक खण्डसमेत अवरुद्ध भएको छ । हालसम्म भुटानमा कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । आकस्मिक बाढीपछि भारतमा समेत चिन्ता बढेको छ । सङ्कोश नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै भारतको पश्चिम बङ्गाल र आसामका केही क्षेत्रमा बाढीको सतर्कता जारी गरिएको छ ।
भुटानको पुनाखास्थित गुम गेउगअन्तर्गत दोछुखा–जोमलिङथाङ–रित्सा चिओगमा रहेको सौर्य ऊर्जाबाट सञ्चालित सिँचाइ प्रणाली बाढीका कारण आंशिकरूपमा क्षतिग्रस्त भएको छ । उक्त प्रणाली अहिले पूर्णरूपमा सञ्चालनविहीन बनेको छ । यद्यपि, क्षतिको वास्तविक अवस्था भने अझै मूल्याङ्कन हुन बाँकी छ । स्थानीय जनप्रतिनिधिका अनुसार उक्त क्षेत्रका बासिन्दाले भोग्दै आएको पानीको अभाव समाधान गर्ने उद्देश्यले यसै वर्ष सिँचाइ प्रणाली स्थापना गरिएको थियो । बाढीले जोमलिङथाङ क्षेत्रस्थित पुनाखा–गासा राजमार्गको एक खण्डमा समेत ढुङ्गा, माटो र अन्य गेग्रान थुपारेको छ । यसबारे दोछुखा–जोमलिङथाङ–रित्सा गाउँका सरकारी प्रतिनिधि (छोग्पा) ले जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)