मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित

emountaintv.com · Fri Oct 30 05:19:53 UTC 2026

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले बुधवार चक्रवातका कारण पाँच जनाको मृत्यु भएको पुष्टि गर्नुभएको हो । रुख, पर्खाल तथा विद्युत्का पोल खस्दा र करेन्ट लाग्दा उनीहरूको मृत्यु भएको जनाइएको छ । चक्रवातको जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका धेरै स्थानमा विद्युत आपूर्ति बन्द गरिएको छ । विद्यालय तथा कलेजलगायत शैक्षिक संस्थाहरू पनि आगामी केही दिनका लागि बन्द गरिएका छन् । आन्ध्र प्रदेशका दुई विमानस्थलबाट सञ्चालन हुने ३५ भन्दा बढी उडान रद्द तथा अन्यत्र डाइभर्ट गरिएको छ । प्रतिघण्टा १३० किलोमिटरसम्मको गतिमा आएको शक्तिशाली चक्रवात बुधवार बिहान भारतको दक्षिणपूर्वी तथा पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेको थियो । विशेषगरी आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा प्रभाव पारेको चक्रवात त्यसपछि ओडिशा, झारखण्ड, छत्तिसगढ र पश्चिम बङ्गालतर्फ अघि बढेको जनाइएको छ । मुख्यमन्त्री नायडूका अनुसार चक्रवातका कारण करिब ७१ हजार हेक्टर कृषि क्षेत्रमा लगाइएको नरिवल र केरा लगायतका बालीमा आंशिक तथा पूर्ण क्षति पुगेको छ । चक्रवातबाट प्रभावित करिव ५७ हजार मानिसलाई सुरक्षित स्थानमा सारेर राहत शिविरमा राखिएको छ । त्यस्तै झन्डै १८० घरमा क्षति पुगेको सरकारी अधिकारीहरूले बताएका छन् ।

Share this:

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)