मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद् व्यवस्थापन संयन्त्र भद्दा हुँदा उद्धार र समन्वयमा ढिलाइः प्रधानसेनापति सिग्देल

emountaintv.com · Fri Oct 30 10:22:47 UTC 2026

काठमाडौं ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले भोटेकोशी विपद् व्यवस्थापन संयन्त्र आवश्यकताभन्दा भद्दा र लामो ‘चेन अफ कमाण्ड’ का कारण तत्काल उद्धार तथा समन्वयमा प्रभावहीन बनेको बताउनुभएको छ ।शुक्रवार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै उहाँले २०७२ सालको भूकम्पपछि बनेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (एनइओसीसी) को विद्यमान ढाँचामा व्यापक परिमार्जन आवश्यक रहेको बताउनुभएको हो । प्रधानसेनापति सिग्देलले हालैका बाढीपहिरो तथा सुरुङ दुर्घटनाजस्ता घटनाले विद्यमान विपद् संरचनाको कमजोरी उजागर गरेको स्पष्ट पार्नुभयो । विपद् आउनासाथ सबै निकाय र क्लस्टरहरू एकैपटक परिचालन हुन खोज्दा उद्धारमा अनावश्यक ढिलाइ हुने गरेको उल्लेख गर्दै उहाँले पहिले खोज तथा उद्धारमा संलग्न हुने ‘इमिडियट रेस्पोन्स’ टोली मात्र तत्काल परिचालन हुनुपर्ने र त्यसपछि पुनर्निर्माण तथा राहतका तहहरू क्रियाशील हुनुपर्ने तर्क गर्नुभयो । जलवायु परिवर्तनका कारण पछिल्लो समय विपद्को प्रकृति बदलिएको चर्चा गर्दै सेना प्रमुखले कुनै पनि विपद्मा शतप्रतिशत पूर्वतयारी सम्भव नभए पनि न्युनतम जीवन रक्षा, सुरक्षित वास र खाद्यान्न व्यवस्थापनका लागि राज्य संयन्त्र पूर्ण सक्षम हुनुपर्ने बताउनु भयो । रसुवा तथा भोटेकोशीका घटनाहरूमा सुरुङभित्र एकाएक पानी पसेको दृष्टान्त दिँदै उहाँले संसारमै दुर्लभ प्रकृतिका यस्ता विपद्मा पूर्वअभ्यास वा उपकरण मात्रै पर्याप्त नहुने हुँदा तत्काल पुग्न सक्ने द्रुत क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)