विकासमा नीतिगत स्थायित्व
gorkhapatraonline.com · Sun Nov 01 02:28:32 UTC 2026

पछिल्ला समयमा नेपालमा भएका बाढी तथा सोबाट सृजित पहिरो तथा अन्य धेरै खालका विपत्ले ठुलो क्षति पुराएका छन् । भदौमा आएको रसुवा बाढी होस् या असोजमा भएको अविरल वर्षाको कारण कालीगण्डकी नदीमा आएको बाढी होस् या भर्खरै मात्र बुढीगण्डकीमा आएको बाढीबाट भएको क्षति किन नहोस्, बेला बखत आइरहने विपत्बाट जनधनको ठुलो क्षति सहनु परेको छ । जलवायु परिवर्तनका प्रभाव तथा विकासका नीतिगत कमजोरीका कारण निकै नकारात्मक असर परेको देखिन्छ । हाम्रो विकासलाई कसरी दिगो र जलवायु विपत् सहन सक्ने खालको बनाउने भन्ने मूल प्रश्न खडा भएको छ ।
विकास दिगो, समावेशी, उत्थानशील र वातावरणमैत्री हुनु पर्छ भन्ने भाष्य संयुक्त राष्ट्रसङ्घका दिगो विकास लक्ष्य र नेपालको सोह्रौँ आवधिक योजनाले पनि आत्मसात् गरेका छन् । सबैजसो नीति तथा योजनाहरू विकास केन्द्रित नै छन्, तथापि विकास हुन सकेन । सडक, पुल, जलविद्युत् आयोजना निर्माणमा ढिलाइ, लागत वृद्धि, कमजोर अनुगमन तथा गुणस्तरसम्बन्धी प्रश्नहरू बारम्बार उठ्ने गरेका छन् । धेरै पूर्वाधार भूगर्भीय तथा जलवायुजन्य जोखिमलाई पर्याप्त ध्यानमा नराखी डिजाइन गरिएको आशङ्का पटक पटक पुष्टि भइरहेको छ । जलवायु परिवर्तनसँग जोडिएका योजनाहरू पनि यसबाट अछुतो छैनन् । पहिलो त विकास बजेटकै अंश कम छ, त्यसमाथि पनि विनियोजित बजेटको खर्च सन्तोषजनक हुन सकिरहेको छैन र आर्थिक वर्षको अन्त्यमा हतारमा खर्च गर्ने प्रवृत्ति पनि कायमै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)