बन्न नसकेका चक्रपथ
gorkhapatraonline.com · Sun Nov 01 02:48:10 UTC 2026

विश्वमै सहरी पूर्वाधारमा अनेक अभ्यास प्रचलनमा छन् । ठुला सहर तथा निश्चित क्षेत्रको यातायात प्रणालीलाई सुव्यवस्थित गर्न सहरवरिपरि घेराबद्ध फराकिला सडक अर्थात् चक्रपथ प्रचलित पाइन्छ । फराकिला सडकलाई सुव्यवस्थित यातायात प्रणालीको मेरुदण्ड नै मानिन्छ । विश्वका विकसित सहरमा एउटा मात्र होइन, धेरै वटा चक्रपथ निर्माण गरिएको पाइन्छ । चीनको राजधानी बेइजिङमा पहिलो, दोस्रो, तेस्रो गर्दै अनेक चक्रपथ निर्माण भई यातायात व्यवस्था सुव्यवस्थित गरिएको छ । अन्तर्राष्ट्रिय अभ्यासको नेपालमा पनि प्रवेश हुनु स्वाभाविक हो । काठमाडौँ र ललितपुरलाई समेटेर पाँच दशकअघि नै चक्रपथ बनेको थियो । त्यतिबेला चक्रपथ निर्माण गर्दा यति ठुलो सडक किन बनाउनु पर्यो भन्ने व्यापक आवाज उठेको थियो तर समयक्रममा त्यही चक्रपथमा सवारी चाप अत्यधिक बढेर गएकाले थप सडकको माग गरिएको छ । दुई दशकअघि नै काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सहर तथा बस्तीलाई व्यवस्थित गर्न बाहिरी चक्रपथको अवधारणा ल्याइएको थियो तर काठमाडौँ उपत्यकाका बाहिरी चक्रपथ कागजमै सीमित भएको छ । काठमाडौँ उपत्यकामा बाहिरी चक्रपथसँगै देशभरका कतिपय सहर तथा अनेक पालिकालगायतमा चक्रपथको योजना बनाइयो । अधिकांश चक्रपथ योजना कागजमै सीमित हुन पुग्दै छन् । सबै जसो चक्रपथ आयोजनाको भौतिक प्रगति एकदमै न्यून मात्र होइन, कतिपय अवस्थामा त निराशाजनक नै छ । कतिपय स्थानीय तहले आवश्यकता वा रहरले चक्रपथ निर्माणको लक्ष्य राखे पनि ती आयोजना महत्वाकाङ्क्षामा मात्र सीमित भएका छन् ।
संविधानले देशलाई सङ्घीय संरचनामा लगेको छ । सङ्घीयताले सङ्घ, प्रदेश र स्थानीय सरकार क्रियाशील गराएको छ । सङ्घीयतापछि देशका विभिन्न महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित गर्न र यातायात पहुँच बढाउन चक्रपथ निर्माण योजना र अवधारणा अगाडि सारेका छन् । ती आयोजनालाई गौरवको आयोजनाका रूपमा घोषणा पनि गरिएको छ । गौरवको आयोजना घोषणा भएको लामो समय बितिसक्दा पनि धेरै जसो पालिकामा चक्रपथको प्रगति भने सुस्त छ । योजना सुरु भएको बर्सौं बित्दा कतिपय स्थानमा काम सुरु गरिए पनि भौतिक तथा वित्तीय प्रगति नगण्य मात्र छ । काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथले जग्गा कारोबारीलाई धनाढ्य बनायो । धेरै खेतीयोग्य उर्वर जमिनमा बाहिरी चक्रपथ बन्ने सपनामा घरघडेरीमा रूपान्तरण गरियो । जग्गाको भाउ आकासियो । कतिपय सहकारी जग्गा कारोबारमै लगानी गरेर थला परे । बैङ्क तथा वित्तीय संस्थाको ठुलो लगानी पनि यसै क्षेत्रमा जाम भएको आकलन छ । यता केही वर्षमा जग्गाको उच्च मूल्य लागतका कारण कारोबारमा आएको अवरोधले लगानी अवरुद्धको अवस्थामा समेत परेको छ । काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथसँगै विराटनगर, पोखरा, जनकपुरधाम जस्ता महानगरीय सहरले पनि चक्रपथीय सपना कागजमै सीमित गरेका छन् । लमजुङको राइनास नगरपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालगायतका पालिकामा चक्रपथ निर्माणका सानाठुला आयोजना सञ्चालनमा भए पनि प्रगति भने न्यून र सुस्त छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)