मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘अब आफ्नै जग्गाको मालिक भयौँ’

gorkhapatraonline.com · Sun Nov 01 03:33:59 UTC 2026

दाङ, कात्तिक १५ गते । “अब आफ्नै जग्गाको मालिक भयौँ’ भन्दै लालपुर्जा हातमा लिएर खुसीका आँसु पुछ्दै हुनुहुन्थ्यो गढवा गाउँपालिका–३, गोबरडिहाका मङ्गलप्रसाद कुमाल । झन्डै दुई दशकदेखि ऐलानी जग्गामा बस्दै आएका उहाँले शनिबार आफू बसोबास गर्दै आएको जग्गाकै लालपुर्जा पाएपछि खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जिन्दगीमा जग्गा पाउँछु जस्तो लागेको थिएन । आज जग्गाधनी लालपुर्जा पाउँदा सपना जस्तै लागिरहेको छ ।” २०६० सालदेखि ऐलानी जग्गामा बस्दै आएका कुमालका नाममा एक धुर पनि जग्गा थिएन ।

मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएका उहाँले अहिले एक कट्ठा १९ धुर जग्गाको जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्नुभएको छ । बर्सौंदेखि भोगचलन गर्दै आएको जग्गा आफ्नै नाममा भएपछि उहाँको परिवारमा खुसी छाएको छ । सोही ठाउँकी आशा परियारले पनि आफू बसोबास गर्दै आएको जग्गाको लालपुर्जा प्राप्त गर्नुभयो । पटक पटक जग्गाको नापजाँच भए पनि पुर्जा पाउन नसकेको उहाँले यस पटक प्रमाणपुर्जा पाएपछि खुसी व्यक्त गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)