मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हराउँदै साझा खल्यान, बदलिँदै गाउँको स्वरूप

gorkhapatraonline.com · Sun Nov 01 04:05:13 UTC 2026

दाङ, कात्तिक १५ गते । कुनै समय गाउँका सबैको अन्न भण्डारण गर्ने, भित्र्याउने साझा थलो थियो खल्यान । धान काट्ने याम सुरु हुनासाथ गाउँले मिलेर खल्यान सफा गर्थे, लिपपोत गर्थे र खेतबाट काटेर ल्याएको धान त्यहीँ जम्मा गर्थे । धानका खरी लस्करै देखिन्थे । गोरु र राँगाको सहायताले सामूहिक रूपमा दाइँ गरिन्थ्यो । अन्न भित्र्याउने यो परम्परासँगै गाउँलेबिच श्रम, सहयोग र आत्मीयताको सम्बन्ध पनि जोडिएको थियो ।

समयसँगै खेतीपातीको तौरतरिका फेरिएको छ । धान काट्ने, झाँट्ने र दाइँ गर्ने आधुनिक प्रविधि भित्रिएपछि गाउँका साझा खल्यान प्रयोगविहीन हुँदै गएका छन् । अहिले खेतमै खल्यान बनाएर थ्रेसरको सहायताले धान झाँट्ने र अन्न भित्र्याउने चलन बढेसँगै दाङका अधिकांश गाउँमा सामूहिक खल्यान बनाउने परम्परा हराउँदै गएको छ । दङ्गीशरण गाउँपालिका–५, डाँडाचिसका अङ्गलाल चौधरीका अनुसार खेतमै खल्यान बनाएर थ्रेसरबाट धान झाँट्ने चलन बढेपछि गाउँका साझा खल्यानको प्रयोग घटेको हो । प्रविधिले खेतीपातीको काम सहज बनाएसँगै पुस्तौँदेखि चल्दै आएको सामूहिक खल्यानको अभ्यास पनि हराउँदै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला गाउँका सबैले एउटै खल्यान प्रयोग गर्थे । धान काटेर ल्याउने, खरी लगाउने र दाइँ गर्ने काम सामूहिक रूपमा हुन्थ्यो । अहिले खेतमै धान झाँट्न थालेपछि गाउँका खल्यान प्रयोग हुन छाडेका छन् ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)