नयाँ पुस्तामा सामाजिक मूल्य मान्यता कमजोर हुँदै गएको छ: महासचिव पोखरेल
gorkhapatraonline.com · Sun Nov 01 15:56:18 UTC 2026

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ पुस्तामा सामाजिक तथा सांस्कृतिक मूल्य मान्यता कमजोर हुँदै गएको बताउनुभएको छ । आमाबाबुबाट प्राप्त हुने संस्कार र संस्कृतिको सट्टा मोबाइल तथा सामाजिक सञ्जालबाट बालबालिकाको चरित्र निर्माण हुन थालेको भन्दै यसले समाजको भविष्यप्रति चिन्ता बढाएको बताउनुभयो ।
संविधान सभा सदस्य एवं नेकपा (एमाले) का लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको आमा रेव कुमारी कँडेलको स्मृतिमा रामपुर–३, रजघरामा आइतबार भएको शोक सभामा बोल्दै महासचिव पोखरेलले नयाँ पुस्तालाई परिवार, समाज र सांस्कृतिक मूल्य मान्यतासँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आज आमाहरूले हुर्काएका छोराछोरीभन्दा मोबाइलले हुर्काएका छोराछोरीहरूको चरित्र निर्माण हुँदैछ ।” उहाँले बालबालिका रोएमा मोबाइलमा भिडियो देखाएर फकाउने प्रवृत्तिले उनीहरूमा पारिवारिक संस्कार हस्तान्तरण हुने प्रक्रिया कमजोर बनाएको बताउनुभयो । सूचना प्रविधिमा अगाडि रहेका मुलुकहरूले समेत कम उमेरका बालबालिकालाई मोबाइल प्रयोग गर्न नदिने गरेको उल्लेख गर्दै उहाँले बालबालिकालाई शिक्षा र संस्कारसँगै हुर्काउनुपर्ने धारणा राख्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)