मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनकपुरधाम–अयोध्या : विशेष रेलसेवा सञ्चालनको तयारी तीव्र

gorkhapatraonline.com · Mon Nov 02 04:06:30 UTC 2026

जनकपुरधाम, कात्तिक १६ गते । मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेलसेवा सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सातामा एकदिन भारतको अयोध्याबाट जनकपुरधाम आउने गरी रेल सञ्चालनका लागि तयारी भइरहेको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा विशेष रेलसेवाको उद्घाटन गर्ने गरी दुवै पक्षबिच तीव्र रूपमा तयारी भइरहेको नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विशेष रेलसेवा सञ्चालनका लागि नेपाल र भारतका रेलवे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबिच विभिन्न चरणमा छलफल भइरहेको रहेको छ । हामीले नेपालका प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा उद्घाटन गर्ने गरी तयारीमा लागेका छौँ । रेलसेवा उद्घाटनको औपचारिक मिति भने अझै तय नभएको प्रबन्ध सञ्चालक पराजुलीले बताउनुभयो । उहाँले नेपालको धार्मिक नगरी जनकपुरधामदेखि भारतको धार्मिक नगरी अयोध्यासम्म रेलसेवा सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय कामकाजको तयारी भइरहेको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)