अनशनरत डा. गोविन्द केसीलाई उपचारका लागि काठमाडौं ल्याइयो
corporatenepal.com · Mon Nov 02 04:46:35 UTC 2026

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा अनशनरत वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार इलाम जिल्ला अस्पतालमा भर्ना गरिएका केसीलाई सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने केसीको सचिवालयले जनाएको छ ।
कात्तिक १४ गते राति अस्पताल भर्ना भएका केसीको स्वास्थ्य परीक्षण गर्दा रगतमा ग्लुकोजको मात्रा अत्यन्त कम भएको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको थियो । चिकित्सा शिक्षाका लागि आवश्यक पूर्वाधार नपुगेका संस्थालाई समेत पठनपाठनको अनुमति दिइएको भन्दै केसीले कात्तिक १३ गतेदेखि आफ्नो २५औँ सत्याग्रह सुरु गरेका थिए । उनले स्वार्थको द्वन्द्व देखिने गरी गरिएका निर्णय खारेज गर्नुपर्ने माग अघि सारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)