चम्काइदेऊ साइँला चमक्कै
gorkhapatraonline.com · Tue Nov 03 00:23:53 UTC 2026

सन्दीप राउत काठमाडौँ इन्द्रचोकको परम्परागत भाँडा पसलअघि धमाधम पित्तलका कलश चम्काउँदै भेटिनुभयो । अलिक वर अर्को पसलअघि विदुर नेपाल र अरुण थापा पनि आमनेसामने बसेर कलश, थाली र अरू पूजाका लागि प्रयोग हुने सामग्री सफा गर्दै हुनुहुन्थ्यो । निला, हरिया लेउ लागे जस्ता पूजासामग्री नयाँ जस्तै चमक्क चम्काउन सहज भने थिएन । हँस्यौली र ठट्यौली गर्दै उहाँहरू एकअर्कामा कसका भाँडा चम्किला हुने भनी प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो । थापाले ठट्टामै भन्नुभयो, “चम्काइदे साइँला चमक्कै, तिहारमा बलोस् यो भाँडा बत्ती जस्तै धपक्कै ।”
उहाँलाई जवाफ दिँदै विदुरले थप्नुभयो, “न्वारानदेखिको बल निकाल कान्छा, आज पसल सबै चम्काइदे ।” भाँडाको चमकले नै ग्राहक तानिने भएकाले तिहारका बेला सधैँ सफा गर्ने चलन रहेको सन्दीप राउतले सुनाउनुभयो । पीताम्बरलाई कपडामा राखेपछि त्यसमा थोरै पानी मिसाउने र भाँडामा कसेर माझ्दा पित्तल सुन जस्तै चम्किन्छ । तामा झलल रातो भएर चम्कन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)