कोप–३१ मा नेपालका मुद्दा
gorkhapatraonline.com · Tue Nov 03 02:42:39 UTC 2026

नेपालले जलवायु परिवर्तन सिर्जना गरेको होइन तर यसको सबैभन्दा ठुलो मूल्य चुकाइरहेका देशमध्ये नेपाल अग्रपङ्क्तिमा छ । यही हाम्रो समयको सबैभन्दा ठुलो अन्याय हो । हालै रसुवा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ र गोरखा क्षेत्रमा देखिएका बाढीपहिरो, हिमपातजन्य जोखिम र नदी थुनिएर बनेका अस्थायी ताल फुट्दा उत्पन्न भएका विपत्लाई केवल प्राकृतिक प्रकोप भनेर बुझ्नु गल्ती हुने छ । यी घटना विश्वव्यापी जलवायु सङ्कटको स्थानीय अभिव्यक्ति हुन् । अझ स्पष्ट भाषामा भन्नुपर्दा, औद्योगिक राष्ट्रहरूले दुई शताब्दीदेखि उत्सर्जन गरेको कार्बनको मूल्य नेपालका हिमाल, नदी र गाउँले चुकाइरहेका छन् ।
हिमालयलाई वैज्ञानिकले ‘तेस्रो ध्रुव’ भन्छन् । आर्कटिक र अन्टार्कटिकपछि सबैभन्दा ठुलो हिउँ र बरफको भण्डार यही क्षेत्रमा छ । हिन्दुकुश–हिमालय क्षेत्रबाट गङ्गा, ब्रह्मपुत्र र सिन्धु जस्ता नदी बग्छन्, जसले दक्षिण एसियाका करिब १.३ अर्ब मानिसको जीवन, कृषि, ऊर्जा र आर्थिक गतिविधिलाई आधार प्रदान गरिरहेका छन् । हिमालय कमजोर हुँदा नेपाल मात्र होइन, सम्पूर्ण एसियाको जल, खाद्य र ऊर्जा सुरक्षा जोखिममा पर्छ । नेपालका लागि हिमाली नदी केवल नदी होइनन्, विकासका मेरुदण्ड हुन् । जलविद्युत्, सिँचाइ, खानेपानी, पर्यटन र जैविक विविधताको आधार यही हिमाली पारिस्थितिकी तन्त्र हो तर आज यही प्रणाली अभूतपूर्व दबाबमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)