तिहारमा स्वदेशी उत्पादन
gorkhapatraonline.com · Tue Nov 03 02:46:12 UTC 2026

नेपालीको महान् चाड बडादसैँपछि अर्को ठुलो चाड तिहार आउन लागेको छ । सहरबजारमा चहलपहल देखिन थालेको छ । तिहार नेपाली सभ्यताको नितान्त मौलिक चाड हो । तिहारका विविध विशेषताले मानिसलाई प्रकृतिसँग सामीप्य हुने सन्देश दिन्छ । मानव सभ्यता प्रकृति र पशुपन्छीको सामीप्यमा अगाडि बढेको व्यावहारिक अनुभूत गराउँछ । यमपञ्चकका पाँच दिन तिहारका महत्वपूर्ण दिन हुन् । सूचना र सन्देश दिन सक्ने कागको पूजाबाट यमपञ्चक आरम्भ हुन्छ । जङ्गली अवस्थादेखि मानव सभ्यतालाई साथ दिएको कुकुरको पूजा यसै अवसरमा गरिन्छ । लक्ष्मीको प्रतीक गाई अनि कृषि अर्थतन्त्रको परम्परागत आधार गोरुसमेतको पूजा गरिन्छ । तिहार रमझम, उज्यालो र सांस्कृतिक एकतालाई बृहत् बनाउने चाडसमेत हो । धनकी देवी लक्ष्मीको पूजा अनि दिदीभाइ र दाजुबहिनीको सम्बन्धलाई प्रगाढ बनाउने यो चाडमा केही वर्ष यता तडकभडक देखिन थालेको छ । आयातित वस्तुको बढी उपयोग गरी स्वनिर्भर अर्थतन्त्रमै प्रतिकूल असर बनाउन सक्ने दिशातिर पनि उन्मुख हुँदो छ । चाडपर्वले सामाजिक सद्भाव र एकतासँगै देशीय अर्थतन्त्रलाई बढोत्तरीमा समेत सहयोग पुर्याउनु पर्छ । आयातित वस्तुमा मात्र चाडपर्व निर्भर हुँदै गएपछि देशभित्रको धन बाहिर जाँदै छ । आय, उत्पादन र रोजगारीमै प्रतिकूल असर परेको छ ।
यताका वर्षमा नेपालको अर्थतन्त्र आयातमा निर्भर हुँदै जानु चिन्ताको विषय हो । कुल बाह्य व्यापारको ९० प्रतिशतभन्दा बढी आयातको अंश छ । कुल व्यापारमा निर्यातको योगदान १० प्रतिशतभन्दा कम कति चिन्ताको विषय हो ? व्यापार घाटा फराकिलो हुँदै छ । बडादसैँ सबैभन्दा बढी आयात बढाउने चाड भएको छ भने तिहारले पनि यताका वर्षमा आयातलाई नै बढावा दिइरहेको छ । देशभित्रै उत्पादन हुन सक्ने वस्तु पनि आयातले प्रतिस्थापन गर्न थालेको छ । स्वदेशी वस्तुको उपेक्षा हुन थालेको छ । तिहार फुलैफूलको पर्व हो । नेपालको हिमाल, पहाड र तराईका घरआँगनमै थरी थरीका फूल फुल्छन् । मखमली, सयपत्री, गोदावरी आदि फूल नेपाली माटोको सुवास हो । फूल पनि बाहिरबाट आउन थालेको छ । सरकारले स्वदेशी फूललाई प्रोत्साहन दिए पनि अनौपचारिक तवरबाट बाहिरबाट फूल आइरहेको छ । नेपालीको घरआँगनमा फुलेका फूलको प्रतिस्थापन गर्न सक्ने गरी आयातित प्लास्टिकका माला र महँगा विदेशी कृत्रिम फूलहरूको प्रचलन बढ्दो छ । बजार र घर घरमा देखिने आयातित कृत्रिम फूलले तिहारको मौलिक पहिचानलाई चुनौती दिइरहेको छ । तिहारमा नेपाली शिल्पीले बनाएका माटाका पालामा तोरीको तेल अनि कपासको बत्ती मौलिक परिचय हो । युगौँदेखि यो परम्परा चलिआएको थियो । यसले पाला बनाउने घरेलु उद्यमलाई बढोत्तरी दिन्छ । तोरीको उत्पादन बढाई तेल मिललाई साथ दिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)