नेपालमा काम गर्ने उमेर समूहको जनसंख्या सन् २०४७ मा उच्च बिन्दुमा पुग्ने प्रक्षेपण
hamrakura.com · Tue Nov 03 00:00:00 UTC 2026

काठमाडौँ। नेपालमा काम गर्ने उमेर समूहको जनसंख्या सन् २०४७ मा उच्च बिन्दुमा पुग्ने र त्यसको १२ वर्षपछि अर्थात् सन् २०५९ मा नेपाल वृद्ध समाजमा प्रवेश गर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
विश्व बैंकले ‘डेमोग्राफिक चेन्ज इन साउथ एशियाः फ्रम टेलविन्ड्स टु हेडविन्ड्स फर डेभलपमेन्ट’ प्रतिवेदनमार्फत नेपालसहित दक्षिण एशियाली मुलुकले जनसांख्यिकीय परिवर्तनबाट प्राप्त अवसर उपयोग गर्न र वृद्ध जनसंख्याको व्यवस्थापनका लागि समयमै तयारी गर्नुपर्ने निष्कर्ष निकालेको छ । काम गर्ने उमेरको जनसंख्याबाट आर्थिक लाभ लिने समय सिमित रहेकाले रोजगारी सिर्जना, सीप विकास र सामाजिक सुरक्षा विस्तारमा अहिले नै ध्यान दिन विश्व बैंकले भनेको छ । नेपालसँग अन्य दक्षिण एसियाली मुलुकको तुलनामा तयारीका लागि केही बढी समय भए पनि संरचनागत चुनौती भने गम्भीर रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा विप्रेषणको योगदान करिव २५ प्रतिशत छ । सन् २००१ देखि २०११ सम्म गरिबी न्यूनीकरणमा विप्रेषणको योगदान करिव ४० प्रतिशत रहेको थियो । तर वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकले स्वदेश फर्किएको करिव तीन वर्षसम्म गैरआप्रवासी श्रमिकको तुलनामा कम तलब पाउने गरेका छन् । यसले वैदेशिक रोजगारीबाट आर्जित सीप, अनुभव र पुँजीलाई स्वदेशमै दीर्घकालीन उत्पादकत्व वृद्धिमा रूपान्तरण गर्न नसकिएको देखाउने प्रतिवेदनमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)